शहिद रुद्र पाख्रिनको सम्झनामा सडक नामाकरण

संवाददाता
माघ १, २०७९

हेटौंडा– मकवानपुरका पूर्व माओवादी नेता तथा जनयुद्धकालिन कमाण्डर रुद्र पाख्रिनको स्मृति दिवसको अबसर पारेर हेटौंडादेखि बकैयासम्मको सडक नामाकरण गरिएको छ ।

बिहीवार मकवानपुरगढी गाउँपालिका–४, स्थित रुद्र बाटिकामा उनको शालिकमा माल्यापर्ण गर्दै मकवानपुरगढी हुँदै बकैया सिमात पुग्ने सडकलाई शहिद रुद्र मार्ग नामाकरण गरिएको हो । गाउँपालिकाले पाख्रिनको सम्झतामा सडक नामाकरण गरिएको जनाएको छ ।

गाउँपालिकाद्वारा पिप्ले मक्रान्चुली शिखरकटेरी गढीदरबार हुँदै फुलबारी रानिसेरा हुँदै सिमात बकैया गाउँपालिका जोड्ने मोटर बाटोलाइ शहिद रुद्र मार्ग नामकरण गरी जनयुद्धको शहिद्को सम्मान गरेकोमा रुद्र पाख्रिनका छोरा तथा नेकपा माओवादी केन्द्र मकवानपुरका सचिव भिम पाख्रिनले धन्यवाद दिएका छन् ।

शहिद पाख्रिनकै बुहारी मानकुमारी पाख्रिन नेपाली गाउँपालिकाको उपाध्यक्षसमेत छिन् । मकवानपुरगढी–४, कालिखोलास्थित रुद्र बाटिकामा २० औं स्मृति सभा आयोजना गरिएको थियो । प्रदेश सांसद तथा माओवादी केन्द्र बागमती प्रदेश कमिटी उपाध्यक्ष प्रेमबहादुर पुलामीको प्रमुख आतिथ्यतामा स्मृति सभा भएको हो ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान, बागमती गाउँपालिका अध्यक्ष तथा माओवादी केन्द्र जिल्ला अध्यक्ष सर्केश घलान, मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानलगायतको आतिथ्यता थियो । स्मृति सभाको अबसरमा पख्रिनकी श्रीमती राममाया पाख्रिनलाई सम्मान व्यक्त गरिएको थियो ।

को हुन् पाख्रिन ?
स्वच्छ छवि र निडर स्वभावले चनिएका उनै पाख्रिनले संसार छोडेको बिहीवार २० वर्ष पुगेको हो ।

२०५४ सालबाट पूर्णभूमिगत भएर राजनीतिक गतिविधि सञ्चालनमा सक्रिय रही २०५९ पुस २८ गते विहान करिब साढे ८ बजे तत्कालिन नेपाली सेना र प्रहरी टोलीबाट पाख्रिनको हत्या भएको थियो ।

पार्टीको निर्देशन बमोजिम मकवानपुरमा जिल्ला जनसरकार गठनका लागि पाख्रिनले नै नेतृत्व गर्नुपर्ने भएपछि उनी २०५९ पुसमा उदयपुरबाट मकवानपुर खटिएका थिए । उनी मारिएकै दिन साविकको फापरबारी गाविस हालको बागमती गाउँपालिकामा जनसरकार घोषणा गर्ने कार्यक्रम थियो । उनी हालको हेटौंडास्थित रातदेवी हुँदै फापरबारीतर्फ हिँडेका थिए ।

मोटरसाइकलमा सवार पाख्रिन हालको बकैया गाउँपालिका साविकको छतिवन गाविसको गरगरेमा चेकिङमा परे । सेनाले उनको साथबाट युद्ध सामर्गी र परिचय भेटेपछि उनलाई मारिएको थियो । पाख्रिनलाई हात बाँधेर घोप्टो बनाएर उनको शरिरका ढाड, कोखामा गोली दागिएको थियो ।

मकवानपुरको गोगने–६, कालीखोला बांगेमा जन्मिएका पाख्रिनले आफ्नो जीवनकालमा रिक्सा र ठेला चलाउने, साइकल मर्मत गर्ने, घरघरमा रंग लगाउने र अखबार बेच्नेदेखि भारी बोक्ने कामसमेत गरे । अरुको कमजोरीप्रति टीकाटिप्पणी गर्नुभन्दा आफ्ना कमजोरीप्रति सजग र सचेत रहने शालीन व्यक्तित्वका रुपमा परिचित पाख्रिन राजनीतिक वृत्तमा ‘रमेश’ नामले परिचित थिए ।

सायदै त्यो दिन उनी नमारिएको भए, त्यो जनसरकार घोषणा कार्यक्रमले मकवानपुरको जनसरकार प्रमुख हुन्थे । उनको सम्झनामा बकैयाको गरगरे र मकवानपुरगढीमा स्मृति पार्क निर्माण गरिएको छ । मकवानपुरगढी गाउँपालिका मक्राञ्चुलीमा रहेको जनयुद्धकालिन शहीद रुद्र पाख्रिनको प्रतीमा करिब साढे ६ फिट अग्लो ग्लास फाइबरबाट बनाइएको छ । पाख्रिनको परिवारबाट उनको छोरा भिम र बुहारी मानकुमारी दुवै राजनीतिमा सक्रिय छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*