मेयर लामाको र्सघर्षः निरन्तर ‘सफा हेटौंडा अभियान’

संवाददाता
पुस १७, २०७९

हेटौंडा– हेटौंडालाई सुन्दर र सफा शहरको रुपमा विकास गर्ने लक्ष्यसहित थालिएको ‘सफा हेटौंडा अभियान’ ले निरन्तरता पाएको छ । ‘सफा हेटौंडा अभियान’ अन्तर्गत् शनिबार पनि हेटौंडामा सरसफाई गरिएको हो ।

अभियानअन्तर्गत् हेटौंडालाई सुन्दर र सफा शहरको रुपमा विकास गर्न हेटौंडा उपमहानगपालिकाका नगर प्रमुख मिनाकुमारी लामा आफैं शनिबार बिहान सडकमा देखिइन् । बिहान सबेरै हातमा कुच्चो बोकेर त्रिदेब मार्गको सडक सफा गर्ने अभियानमा रहेकी उनीसँगै अन्य स्थानीय बासिन्दाको साथ रहेको थियो ।

उनीसहितको महिला टोली सडक बढार्ने र फोहर संकलनको काममा रहँदा दायाँबायाँका घरका बासिन्दा दर्शक मात्र बनिरहेको देखिन्थ्यो । उपमहानगरले सुरु गरेको अभियानलाई हरेक साताको शनिबार कार्यान्वयनमा ल्याउन नगर प्रमुख लामा आफैं खटिने गरेकी छन् ।

शनिबार हेटौंडा–४ को परिजात पथ र त्रिदेब मार्गमा उनीसहित टोलविकास संस्था, महिला उद्यमी र आमा समूहसहितको टोली सफा हेटौंडा बनाउन सडकमा उत्रिएको हो ।हातमा कुच्चो बोकेर सडक बढार्ने, सडक छेउमा भएको फोहोर संकलन गर्ने र बिरुवाको गोडमेलसहितको काम अभियानको क्रममा गरिएको थियो ।

अभियानलाई साझा बनाउन ‘टुगेरद वी क्यान’ को नारा दिइएको छ । उपमहानगरले समुदायसँगै जोडेर अभियान सञ्चालन गर्दा स्थानीय बासिन्दालाई पनि जिम्मेवारीको महसुस हुने उनको बुझाइ छ ।

अहिले उपमहानगरमा रहेका टोलबिकास संस्थाले टोलटोलमा पुगेर अभियानलाई सार्थक बनाउन लागिरहेको र यसको परिणाम बिस्तारै देखिँदै जाने बताइएको छ । हामिले हाम्रो पहिचानको रुपमा रहेको सुन्दर हरित नगरीलाई थप प्रभावकारी बनाउन अभियान थालेको नगर प्रमुख लामाले बताइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*