श्रम र सडकमा भेटिएका बालबालिकामाथि उपमहानगरको ‘एक्सन’
हेटौंडा– एक वर्षपछि अर्थात आगामी वर्षको मंसिरमा बालमैत्री घोषणा गर्ने अभियानअन्तर्गत् बालश्रममा लागेका बालबालिकाहरुको उद्दारमा हेटौंडा उपमहानगरपालिकाले प्राथमिकता दिने भएको छ ।
बालमैत्री घोषणाको क्रममा प्रमुख चुनौतीका रुपमा देखिएको बालश्रमलाई नियन्त्रण गर्ने उपमहानगरले विशेष योजनासहित काम गर्ने भएको हो । हाल बजार क्षेत्रमा श्रममा प्रयोग भइरहेका बालबालिकालाई परिवारमा पुर्नःस्थापित गर्ने काम उपमहानगरले गरेको छ ।
आइतबार अभियानकै क्रममा उपमहानगरपालिकाले १२ र १४ वर्ष उमेर समूहको दुई जना रौतहट घर भएका बालकहरु हेटौंडामा मिठाई बेच्दै हिड्ने काममा प्रयोग भएको पाएपछि उपमहानगरपालिकाले सिविन बालहेल्प लाइन, श्रम कार्यालयलगायतको समन्वयमा परिवारमा पुर्नःस्थापना गरिएको
छ । मिठाई बेच्ने क्रममा भेटिएका उनीहरुलाई अभिभावक बोलाएर जिम्मा लगाइएको उपमहानगरको महिला तथा बालबालिका विकास महाशाखा प्रमुख विष्णु कुमारी लामिछानेको जानकारी दिइन् ।
उपमहानगरलाई बालमैत्री बनाउने तयारी स्वरुप बालश्रम नियन्त्रण गर्न कडाई गरिने लामिछानेको भनाई छ । मन्दिरहरुमा माग्न बालबालिकको प्रयोग हुनेलाई पनि कडाई गरिने उपमहानगरको लामिछानेले बताइन् ।
हेटौंडामा पछिल्लो समय बालबालिकाहरुलाई संगठित रुपमा माग्न काममा प्रयोग गरिँदै आएको पाइएको छ । पैसा कमाउने उद्देश्यले केही व्यक्तिले बालबालिका प्रयोग गरेर माग्ने काममा प्रयोग गरिरहेको बारे उपमहानगरपालिकाले अनुसन्धान गरिरहेको छ ।
उपमहानगरपालिकाले माग्ने काममा प्रयोग भइरहेका बालबालिकाको उद्दारसँगै त्यस्तो काममा लगाउने व्यक्तिलाई कारबाहीको दायरामा ल्याउने नीति लिएको छ ।
हेटौंडामा बालश्रम अधिक हुने गरेको छ । होटल तथा रेष्टुरेन्ट, ग्यारेजलगायका क्षेत्रमा बालबालिकाहरु धेरै प्रयोग हुने गरेको जनाइएको छ । यसकारण पनि उपमहानगरपालिकालाई बालमैत्री घोषणा गर्न चुनौती देखा परेको हो ।
हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामा पनि हेटौंडामा बालश्रम र सडकमा भेटिएका बालबालिकालाई उद्दार गरेर परिवारमा पुर्नःस्थापित गर्ने कार्यमा चासोका साथ लागेकी छन् ।
लामाले आइतबार बिहान हेटौंडा–१० राप्ती खोला किनारछेउ रहेको उपमहानगरको ल्यान्डफिल साइटमा पुगेर अनुगमन गरेकी छन् । ल्यान्डफिल साइटमा फोहोर संकलन गरिरहेका बालबालिकालाई मेयरले पठनपाठनमा लाग्न प्रेरित गरेकी छन् ।
मेयर लामाले अनुगमनका क्रममा आर्थिक स्थिति कमजोर भएपछि स्वास्थ सुरक्षा उपकरणको प्रयोग बिनै बालबालिकादेखि वृद्धसमेत फोहोर संकलन काम गर्न बाध्य भएको भन्दै उपमहानगरको गम्भीर ध्यानाकर्षण भएको बताएकी छन् ।
फोहोर संकलन कार्यमा बालबालिका प्रयोग नगर्न उनले निर्देशन दिएकी छन् । उनले फोहोरमा काम गर्न बाध्य बालबालिकालाई पढाउन र खान–लाउन गाह्रो भएकाहरुलाई उपमहानगरले सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत गरेकी छन् । उनले गरीब, विपन्न परिवार र विद्यालय जाने उमेरका बालबच्चाहरुको विवरण उपलब्ध गराउन नगर प्रहरीलाई निर्देशन दिएकी छन् ।
उपमहानगरपालिका उपमेयर राजेश बानियाँले पनि उपमहानगरपालिकाको ध्यानाकर्षण भएको भन्दै सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
राप्ति किनारको ल्यान्डफिल साइटमा हाल करिब ६५ जनाले दैनिकजसो फोहोर संकलन गरेर फोहोरमा मोहर खोज्दै बाचिँरहेका छन् । जसमध्ये बालबालिका पनि प्रयोग भएका छन् ।
त्यहाँबाट बालबालिका प्रयोग नगर्न मेयर लामा र उपमेयर बानियाँले निर्देशन दिएका छन् । ल्यान्डफिल साइटमा अधिकांश मानिसहरु हेटौंडा र केही संख्यामा बाहिरबाट आएर वर्षौंदेखि फोहोरमा काम गर्दै आएका छन् । उनीहरुमध्ये अधिकांशको आफ्नो घर नरहेको पाइएको छ ।
कतिपय जंगलमै बस्ने गरेको खुलेको छ । कोठा भाडामा लिएर बसेकाहरु बिहानै फोहोरबाट मोहर खोज्न यहाँ पुग्ने गरेको पाइएको छ ।फोहोरमा प्लास्टिकका बोत्तल, सिसाका बोत्तललगायत प्रयोगमा आउने वस्तुहरु खोजेर नजिकै रहेको फोहोर प्रशोधन गर्ने स्थानमा लैजान्छन् र बिक्री गर्छन् ।
उनीहरुले सामानको बिक्रीबाट आएको पैसाले नै जीविका चलाउँछन् । हेटौंडालाई २०८० साल मंसिरसम्म बालमैत्री घोषणा गर्ने तयारी गरिएको छ । जसका लागि हाल उपमहानगरका १९ वटै वडामा विभिन्न अभियान सञ्चालन भइरहेको छ ।
सुरुवातमा वडा तहलाई बालमैत्री घोषणा गर्ने तयारी भइरहेको हो । बालमैत्री घोषणाका लागि वडा कार्यालयहरुले टोलटोलमा अभियान चलाइरहेका छन् । हेटौंडालाई बालमैत्री बनाउन मुख्य चुनौतीका रुपमा बालश्रम र बालविवाह रहेको उपमहानगरका प्रवक्ता तथा १ नम्बर वडाका वडाध्यक्ष सविन न्यौपाने बताउँछन् ।
बालमैत्री पालिका घोषणाका लागि पूरा गर्नुपर्ने कार्यसम्बन्धी ५१ वटा सूचकमा १५ वटा संस्थागत विकास सूचक, १४ वटा बालबचाउ सूचक, १० वटा बालसंरक्षण सूचक, बालविकासका सूचक र बाल सहभागिताका सूचक समान ६–६ वटा छन् । यी सूचकहरुमध्ये बाल संरक्षणसम्बन्धी सूचकभित्र पर्ने बालविवाह, बालश्रम नियन्त्रण जस्ता कुरा चुनौतीका रुपमा देखिएका
हुन् ।
५१ सूचकमा नवजात शिशुको स्वास्थ्यजाँच, दक्ष स्वास्थ्यकर्मीबाट सुत्केरी गराउने, ६ महिनासम्म बालबालिकालाई स्तनपान, ५ वर्षसम्मका बालबालिकालाई भिटामिन क्याप्सुल खुवाएको र सबै किसिमका खोप लगाएको हुनुपर्ने छ।
यसका साथै खानेपानीको पहुँच, शौचालयको सुलभता जस्ता सूचक पनि पूरा हुनुपर्ने छ । जसका लागि मेयर लामाले केही दिनअघि १ नम्बर वडामा गर्भवती महिलाहरुलाई सहयोग गर्दै अन्तक्रिया गरेकी थिइन् ।