जग्गा फिर्ताको माग गर्दै पीडककै घरमा धर्ना
हेटौंडा– हेटौंडामा दृष्टिबन्धकीबाट जग्गा गुमाएका पीडित जगतबहादुर सुनार र उनका सहयोगीहरुले पीडक भनी आरोप लगाइएको व्यक्तिकै घरमा धर्ना दिइएको छ ।
पीडित सुनारले आइतबार हेटौंडा–१ बुद्धचोकमा रहेका व्यवसायी नियमराज शाक्यको घरमै धर्ना दिएका हुन् । तत्कालीन समयमा व्यवसायी शाक्यले दृष्टिबन्धकीको नाममा आफु र आफ्नो बाबु पदमलाल सुनारलाई जालझेल गरेर जग्गा राजिनामा पत्रमा हस्ताक्षर गराएर ११ कठ्ठा १६ धुर जग्गा लिएको सुनारको आरोप छ ।
जिल्ला प्रहरी कार्यालयमा यसअघि पीडित पक्ष र पीडक पक्ष भनिएको शाक्यबीच जग्गा फिर्ता गर्ने मौखिक सहमति कार्यान्वयन नगरेपछि आफू घरमै पुगेर धर्ना बस्न बाध्य भएको पीडित सुनारले बताएका छन् ।
आइतबार सुनारसहित उनका सहयोगीहरुले प्लेकार्ड बोकेर धर्ना दिएका थिए । पीडित सुनारले धर्ना दिँदा पनि शाक्यले जग्गा फिर्ता नगराए आमरण अनशन बसेर भएपनि न्याय माग्ने बताएका छन् ।
जगतबहादुरले तत्कालीन समयमा आफ्नो व्यवसाय विस्तारको लागि बुवासँगै आफुले शाक्यसँग दृष्टिबन्धकी गरेर ५० हजार ऋण लिएको तर सो पत्र दृष्टिबन्धकी नभई जग्गा राजिनामा पत्र रहेको केहि वर्षपछि मात्र थापा पाएको दाबी गरे । उनले घटना १९ बैशाख २०५४ सालको भएको बताएका छन् ।
१० साउन २०५९ सालमा जग्गा राजिनामा भएको थाहा पाएपछि ऋण चुक्ता गरेर जग्गा फिर्ता लिन खोज्दा शाक्यले बारम्बार झुक्काइरहँदा सोहि समयबाट आफ्नो परिवारले तनाव झेलिरहेको सुनारले बताए ।
उनले तत्कालीन समयमा शाक्यको घरमै सुन व्यवसाय गर्दा उनलाई आफ्नो बाबुले नजिकबाट विश्वास गरेको तर शाक्यले आफ्नो परिवारलाई घात गरेर सडकमा पु¥याउने काम गरेकामा दुखेसो पोखे ।
उनले शाक्यले विगतदेखि नै जग्गा फिर्ता गर्ने आश्वासन दिँदै आएको तर हालसम्म पनि फिर्ता नगरेको बताएका छन् । उक्त जग्गा समबन्धि विवाद जिल्ला अदालतमा पुगेको छ ।
मुद्दा विचराधिन भएपनि सुनार शाक्यविरुद्ध आन्दोलनरत् छन् । हेटौंडाका सामाजिक अभियन्ता विशालराज मतहले शाक्यले सुनारलाई जालझेर गरेको भन्दै सुनारले न्याय पाउनुपर्ने बताए ।
उनले जग्गा दृष्टिबन्धकीको नाममा अरुको पैतृक सम्पत्तिमा नजर लगाउन नमिल्ने समेत बताए । लेखापढीको काम गर्दै आएका उदयराज ओलीले दृष्टिबन्धकीको नाममा शाक्यले जग्गा राजिनामा हस्ताक्षर गर्न लगाउनु गलत कार्य भएको दाबी गरेका छन् ।