समूहबाट सहकारी बनेको महिला सेवाको ३० करोड कारोबार
हेटौंडा– दुई दशक अघि बनेको महिलाहरुको समूहबाट संगठित भएर ठडिएको महिला सेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ३० करोडको कारोबार गर्न सफल भएको छ ।
प्लान इन्टरनेशनल मकवानपुरको कार्यक्रमले हेटौंडा–१२ का महिलाहरुलाई एकीकृत गरी महिला समूह बनाएको थियो । सोही समूह बिस्तार भइ जन्मिएको महिला सेवा साकोसले शनिवार २२ औं वार्षिक साधारणसभा गरेको छ ।
हेटौंडा उपमहानगरपभित्रका ठूला सहकारीहरुमध्येको महिला सेवाले गत आर्थिक वर्ष २०७८–०७९ मा ३० करोड ८४ लाख ६८ हजार ९ सय ८४ रुपैयाँको कारोबार गरेको जानकारी दिएको छ । सहकारीकी अध्यक्ष यशोदा पराजुलीको सभाध्यक्ष तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानको प्रमुख आतिथ्यतामा साधारणसभा भएको थियो ।
सहकारीले आव २०७८–०८९ मा शेयर पुजीँ २ करोड ८० लाख ३ हजार ३ सय रहनुका साथै जगेडा कोषमा १ करोड ३५ लाख १२ हजार ६ सय ४९ रुपैयाँ रहेको प्रस्तुत प्रतिवेदनमा उल्लेख रहेको छ ।
पाँच हजार पाँच जना शेयर सदस्य रहेको सहकारीले आफ्ना शेयर सदस्यलाई २५ करोड ६२ लाख ५४ हजार ६ सय ९० लगानी गरेको र संस्थाको बचत निक्षेप १९ करोड ११ लाख ६१ हजार ८४२ रुपैयाँ रहेको संस्थाका व्यवस्थापक सुशीला वाईवाले जानकारी दिएकी छन् ।
सहकारीले साधारणसभाको अबसरमा विभिन्न विधामा सम्मान तथा पुरस्कृत गरेको थियो । सभामा दुई सन्तान छोरी जन्माई बन्ध्याकरण गरेका पार्वती खनालका जोडी र उत्कृष्ट कर्मचारी दैनिक बचत संकलक शर्मिला थिङलाई पनि सम्मान गरिएको थियो ।
सहकारीले ज्येष्ठ शेयर सदस्यतर्फ ठुलीमाया थिङ, शान्तिदेवी भोम्जन, फुलमाया पाख्रिन, पदमकुमारी लामा र ठुलीमाया थिङलाई सम्मान गरेको हो । एकल महिलातर्फ दुर्गाकुमारी दर्जी, शान्तिमाया स्याङ्तान, रमा रुम्बा, बुद्धिमाया थिङ, सुकुमाया थिङलाई सम्मान गरिएको छ ।
सभामा सहकारीले उत्कृष्ट समूहतर्फ सुर्यमुखी महिला समूह, कुमारी महिला समूह र मितेरी महिला समूह र एक बाल समूहलाई पुरस्कृत गरिएको थियो ।
साधारणसभामा हेटौंडा उपमहानगरका सहकारी शाखा प्रमुख हिम प्रसाद पौडेल, जिल्ला सहकारी संघका उपाध्यक्ष मेनुका दाहाल, जिल्ला बचत तथा ऋण सहकारी संघका सदस्य जुना दंगाल, राष्ट्रिय सहकारी बैंकका प्रमुख रामेश्वर अर्याल, कार्यपालिका सदस्य रुक्मिणी गोङ्बा, महिला मिलन साकोसका सदस्य संगीता वाईवा, ग्रामिण महिला सेवा केन्द्रकी उपाध्यक्ष लक्ष्मी मोक्तान, आधुनिक महिला जागृति साकोसका कोषाध्यक्ष लक्ष्मी ढुंगेल, जिल्ला बचत संघका व्यवस्थापक सुमित्रा कुमारी वाईवा, संस्थाका लेखा संयोजक अचला शर्मालगायतको आतिथ्यता थियो ।