मकवानपुरगढीमा आफ्ना कार्यकर्ता भर्ति गर्न गरिब तथा विपन्नका छोराछोरीको जागिर चैट

संवाददाता
असार ३१, २०७९

हेटौंडा, ३१ असार– मकवानपुरगढी गाउँपालिकामा विगतदेखि करारमा काम गर्दै आएका कर्मचारीको गठबन्धनबाट विजयी नेतृत्वले जागिर खाइदिएको छ । शुक्रबार गाउँपालिकाले ८३ जना करार सेवाका कर्मचारीलाई जागिरबाट हटाउने निर्णय गरेको हो ।

मकवानपुरगढीमा हाल गाउँपालिका अध्यक्ष, उपाध्यक्षदेखि बहुमत वडाअध्यक्षहरु गठबन्धनको नेपाली कांग्रेस र नेकपा माओवादीबाट विजयी भएका थिए । गाउँपालिकाको नेतृत्वले एमालेले नियुक्त गरेको भन्दै राजनीतिक प्रतिशोध साँधेर गाउँका गरिब तथा विपन्नको जागिर खाइदिएको टिप्पणी भइरहेको छ ।

मकवानपुरगढीमा आफ्ना कार्यकर्ता भर्ति गर्न गठबन्धनको नेतृत्वले करारका कर्मचारी हटाउने निर्णय गरेको आरोप लगाइएको छ । ‘काम गरिरहेका कर्मचारी किन हटाउन पर्यो । सबै प्राविधिक कर्मचारी छन् । भोलीपनि ति प्राविधिकहरु चाहिन्छ नै । गठबन्धनले आफ्ना कार्यकर्ता भर्ति गर्न अहिलेलाई हटाएको हो ।,’ गाउँपालिका स्रोतले सोधखोजीसँग भन्यो ।

२०७४ मा निर्वाचित जनप्रतिनिधिले नागरिकलाई छिटो, छरितो र सहज ढंगबाट सेवा प्रवाह गर्न प्राविधिक कर्मचारीहरु करार सेवामा नियुक्त गरेको थियो । दरबन्दीका कर्मचारीको अपुग भएपछि नागरिकलाई सेवा प्रवाहमा समस्या हुने भएपछि तत्कालीन नेतृत्वले स्वास्थ्य चौकी, वडास्थित प्राविधिक, पशु प्राविधिक र बालमैत्री सहजकर्तालगायतका कर्मचारी करारमा नियुक्त गरेको थियो ।

जानकारी प्राप्त भएअनुसार तत्कालीन गाउँपालिका अध्यक्ष बिदुर हुमागाई नेतृत्वले अधिकांश गरिब तथा विपन्न परिवारका दक्ष जनशक्तिलाई करार सेवामा राखेका थिए । ‘त्यतिबेला कुनै दलका कुनै समुदाय, व्यक्ति नभनी दक्ष जनशक्तिका कर्मचारी राखिएको हो । अहिले गठबन्धन सरकारले निर्वाचन जिताए वापत जनतालाई उपहार दिएको छ ।,’ गाउँपालिका निकट स्रोतले भन्यो ।

शुक्रबार बसेको कार्यपालिका बैठकले मकवानपुरगढी गाउँपालिकाको गाउँ कार्यपालिकाको कार्यालय, मक्रान्चलीबाट विभिन्न समयमा विभिन्न सेवाका पदहरुमा पदपूर्ती भएका तथा अन्य निकायहरुबाट नियुक्ति तथा सिफारिस भएर वडा कार्यालयहरु तथा स्वास्थ्यचौकी इकाईहरुमा सेवा करारमा कार्यरत सम्पूर्ण कर्मचारीको म्याद नथप्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले जानकारी दिए ।

गाउँपालिकाले हाल सेवा करारका कर्मचारी हटाएपनि केही समयपछि पुनः नियुक्ती गर्ने तयारी गरिरहेको गाउँपालिका स्रोतले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*