मकवानपुर गोल्डकपमा मैदान जलमग्न हुँदा खेल स्थगित, भोली दुवै खेल
हेटौंडा– हेटौंडामा जारी चौथो स्थानीय तह सहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत तेस्रो क्वाटरफाइनल खेल स्थगित भएको छ ।
आज बुधबार साँझ ४ बजेको लागि घरेलु टोली विजय युथ र नव जनजागृती युथ क्लबबीचको खेल तय भएको थियो ।
भारी वर्षाका कारण हेटौंडा–५ को पिप्ले क्याम्पा रंगशाला खेल खेल्न नमिल्ने भएपछि विजय युथ र नव जनजागृतीबिचको खेल स्थगित गरिएको हो । स्थगित विजय युथ र नव जनजागृतीबिचको खेल भोली९विहिबार० विहान साढे ८ बजे हुने आयोजक जिल्ला फुटबल संघ मकवानपुरले जनाएको छ ।
त्यस्तै प्रतियोगिता अन्तर्गत एभिनियर फुटबल क्लब क्यामरुन र चर्च ब्वाइज फुटबल क्लबबिचको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल पनि विहिबार अपराह्न ४ बजेबाट खेल सुरु हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा ए डिभिजन, मोफसल र विदेशी सहित १२ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल जेठ ३० गते हुनेछ ।
मकवानपुरको १० पालिकाको सहयोग र फुटबल संघ मकवानपुरको आयोजना भएको प्रतियोगितामा विजेताले १५ लाख र उपविजेता टोलिले १० लाख प्राप्त गर्ने छन् ।