आगामी शैक्षित्र सत्रबाट थाहा नगरमा स्थानीय पाठ्यक्रम लागू हुने

संवाददाता
बैशाख २८, २०७९

हेटौंडा– मकवानपुरको थाहा नगरपालिकाले आगामी शैक्षिक सत्रदेखि पालिकाभित्रका विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ ।

नगरपालिकाले पालिकाभित्रका सबै विद्यालयमा स्थानीय पाठ्क्रम समावेश गरेर ‘थाहा ज्ञानमाला’ तयार समेत पारिसकेको छ । नगरपालिकाका मेयर लवशेर विष्टको अनुसार आगामी शैक्षिक सत्रबाट लागू गर्ने गरि पालिकाले स्थानीय विषयवस्तुलाई पाठ्यक्रममा समावेश गरेर ‘थाहा ज्ञानमाला’ तयार गरेको हो ।

अहिले सो पाठ्यक्रम छाप्ने प्रक्रिया सुरु भएको निवर्तमान मेयर लवशेर विष्टको भनाई छ । ‘हामिले अबको शैक्षिक सत्रबाट नै लागू गर्नको लागि पाठ्यक्रम तयार गरिसकेका छौ’, उनले भने । विष्टले दुई चरणमा गरी सो पाठ्यक्रम लागु गर्ने योजना अनुसार आफूहरुले पुस्तक तयार गरेको बताए ।

उनको अनुसार नगरपालिकाले पहिलो चरणमा पालिकाभित्रका सबै विद्यालयको १ देखि ५ कक्षासम्म आगामी वर्षदेखि ‘थाहा ज्ञानमाला’को पठनपाठन सुरु गर्ने तयारी गरेको छ भने दोस्रो चरणमा ६ देखि ८ कक्षासम्म पाठ्यक्रम लागु गर्ने जनाइएको छ ।

उनले वि.सं. १९९० पौष २६ गते पालुङ्गको घर्तीखोलामा जन्मिएका दार्शनिक रुपचन्द्र विष्ट र उनको दर्शनलाई जीवन्त बनाउन तथा संरक्षणका लागि पाठ्यक्रम तयार पारिएको जानकारी दिए ।

रुपचन्द्र विष्ट र थाहा अभियानका बारेमा अध्ययन अनुसन्धानका लागि आगामी दिनमा सो पाठ्यक्रम महत्वपूर्ण दस्तावेज हुने निवर्तमान मेयर विष्टको विश्वास छ ।

उनको अनुसार रुपचन्द्र विष्टको ‘थाहा दर्शन’लाई पाठ्यपुस्तकमा समावेश गर्न विभिन्न समयमा गोष्ठी र छलफलपछि मात्र सम्भव भएको हो । स्थानीय पाठ्यक्रम र ‘थाहा अभियान’लाई समेटर पाठ्यक्रम निर्माण गरिएको उनको भनाइ छ ।

सुरुवाती चरणमा ‘थाहा अभियान’का बारेमा मानिसहरुले भनेको सुन्नु बाहेक अन्य कुनै पनि दस्तावेज नगरपालिकासँग नभएकाले थुप्रै असहजता व्यहोर्नु परेको विष्टले बताए ।

नगरपालिकाबाट पाठ्यक्रम निर्माणको लागि छुट्टै टीम नै खडा गरेर सोबारे अध्ययन, अनुसन्धान गरेर केही जानकारी संकलन गरेपछि भने अलि सहज भएको उनी बताउँछन् । पठनपाठनका लागि बालबालिकाको उमेर समूह अनुसारको सरल र मिठो भाषा पनि आवश्यक पर्ने भएकाले भाषा छनौटमा पनि केही समय खर्च गरेको उनी बताउँछन् ।

कक्षा अनुसारको विद्यार्थी र उनीहरुले बुझ्ने प्रकृतिको भाषा छनौट समान्य कुरा नभएको उनको भनाइ छ । भाषा छनौटको काम सम्पन्न भएपछि भने पाठ्यक्रमलाई लिपिवद्ध गर्न सफल भएको उनले बताए ।

रुपचन्द्र विष्टको ‘थाहा अभियान’ पढाएपछि विद्यार्थीहरुमा व्यवहारिक ज्ञान, लगनशिलता र इमानदारिता वृद्धि हुने नगरपालिकाको विश्वास छ । आफूले पनि रुपचन्द्र विष्टबाट व्यवहारिक र लगनशिलता सिकेको उनी बताउँछन् ।

आफूहरुले पनि विद्यार्थीहरुलाई तिनै कुरा सिकाउन खोजेको उनले सुनाए । विगतमा आफू पनि कुनै एउटा व्यवसायमा रहेको र नगरपालिकामा मेयरको रुपमा गएपछि भने व्यवसायलाई थाँती राखेर थाहाका जनताको सेवामा मात्र केन्द्रित भएको उनले बताए ।

कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तकमा दार्शनिक रुपचन्द्र विष्ट र थाहा अभियानबारे सामान्य जानकारीमात्र समावेश गरिएको छ । ती कक्षाका बालबालिकाका लागि आवश्यक र बुझ्न सक्ने प्रकृतिको पाठ्य सामग्रीहरु समावेश गरिएको थाहा नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।

शिक्षा शाखाका अनुसार रुपचन्द्र विष्टको उपनाम र विशेषताका बारेमा मात्र साना कक्षाका बालबालिकालाई पढाउने योजना अनुसार सामान्य जानकारी पुस्तकमा समावेश गरिएको हो ।

त्यस्तै ती कक्षाका विद्यार्थीले रुपचन्द्र विष्टका समाज सुधारका सूचकका बारेमा पनि पुस्तकबाट सिक्न सक्नेछन् । शिक्षामा विपन्न बालबालिकाको पहुँच पु¥याउन रुपचन्द्र विष्टले गरेका योगदान, समाज सुधारका लागि आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रका योगदानबारे पुस्तकमा समावेश गरिएको छ ।

त्यस्तै पुस्तकामा थाहानगरपालिकाको नामकरणबारेका जानकारी समावेश गरिएको छ । थाहा नगरपालिका क्षेत्रको भौगोलिक अवस्था, खोला, नाला, बोटबिरुवा र हावापानीको विषय पनि पुस्तकमा समावेश गरिएको छ ।

पाठ्यक्रममा अटाएका रुपचन्द्र को हुन् ?

वि.सं. १९९० पौष २६ गते पालुङ्गको घर्तीखोलामा जन्मिएका दार्शनिक रुपचन्द्र विष्टलाई थाहा आन्दोलनको प्रणेताको रुपमा चित्रण गरिन्छ ।

कम्युनिस्ट विद्यार्थी राजनीतिमा तथा किसान र मजदुरहरूको पार्टीमा क्रियाशील रहेका रुपचन्द्र विष्ट पालुङ गाउँ पञ्चायतका प्रधानपञ्च हुँदै २०२८ सालमा राष्ट्रिय पञ्चायत सदस्य भएका थिए भने ०२९\३० सालबाट रूपचन्द्र विष्टले आफ्ना सहकर्मीको सहयोगमा चट्टान, भित्ता, पर्खाल, रूखदेखि खाली कागज र चुरोटको बट्टासम्ममा ‘थाहा’ लेखेर थाहा आन्दोलनको सुरुवात गरेका थिए ।

केटाकेटी बिग्रे बाबुआमा दोषी, जनता बिग्रे सरकार दोषी, सरकार बिग्रे व्यवस्था दोषी, व्यवस्था बिग्रे अगुवा दोषी, अति यथार्थमुखी, कर्तव्यमुखीबाहेक पछुवा, भगुवा सारा दोषी, जात ठूलो कि जनता, नाता ठूलो कि न्याय, स्वार्थ ठूलो कि निस्वार्थ’ जस्ता भनाइ रुपचन्द्र विष्टले चुनावको पर्चामा लेख्ने गरेको मेयर विष्ट स्मरण गर्छन् ।

‘निष्पक्ष सक्रियताको अभ्यास’ भन्ने मुल सार अनुसार करिब तीन दशकसम्म रुपचन्द्र विष्टले थाहा आन्दोलन चलाएका थिए । चेतनाहीन जनतालाई चेतनासम्पन्न नागरिकमा रूपान्तरण गरी राजनैतिक र सामाजिक जागरण ल्याउनु उनको आन्दोलनको मुल उद्देश्य रहेको मेयर विष्ट बताउँछन् ।

‘रुपचन्द्र विष्ट मकवानपुरलाई आफ्नो कार्यक्षेत्र बनाएर चेतना फैलाउने शिक्षावादी, जनवादी नेता हुन्,’ नगरप्रमुख विष्ट भन्छन्, ‘उनलाई रुप्चन, रुदाने, स्वरूपे आदि नामबाट पनि चिनिने गरेको छ ।’ समाज रुपान्तरणका लागि ‘रुदाने’ले आफ्नै र जनश्रमदानद्वारा पालुङमा जनकल्याण माध्यमिक विद्यालय स्थापना गरेको पनि विष्ट सम्झन्छन् । त्यसैले विष्ट र उनको दर्शनलाई जीवन्त बनाउन तथा संरक्षणका लागि पाठ्यक्रम तयार पारिएको मेयर विष्टको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*