एमाले मकवानपुरगढीको प्रतिबद्धताः वृद्धवृद्धा र असक्तलाई निःशुल्क उपचार, प्रत्येक घरसम्म सडकको पहुँच विस्तार
हेटौंडा– नेकपा एमाले मकवानपुरगढी गाउँ कमिटीले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।
एमाले मकवानपुरगढी गाउँ कमिटीले ‘मकवानपुरगढीको आर्थिक समृद्धिको आधार, सुशासन र विकासका लागि एमालेको स्थानीय सरकार’ भन्ने नारासहित स्थानीय सरकारमा आगामी पाँच वर्षमा गरिने कामको प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो ।
मकवानपुरगढी गाउँपालिकाको अध्यक्षमा एमालेबाट बिदुर हुमागाईं र उपाध्यक्षमा सन्तु थिङ सर्वसम्मत उम्मेदवार चयन भइसकेका छन् । एमाले बागमती प्रदेश कमिती सदस्य नवराज तिमल्सिना, एमाले मकवानपुरगढी गाउँपालिका कमिटीका अध्यक्ष रामजी सापकोटा एमाले मकवानपुरगढीका सहइञ्चार्ज मेम्मल लो, एमाले गाउँ कमिटी सहसचिव चन्द्र योञ्जनसहित अध्यक्षका उम्मेदवार हुमागाईं, उपाध्यक्षकी उम्मेदवार थिङलगायतले शुक्रबार प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।
प्रतिबद्धता पत्रमा ६ नम्बर वडामा निर्माण भइरहेको अस्पताल आगामी आर्थिक वर्षमा सञ्चालन गरिने, वृद्धवृद्धा, १५ वर्ष मुनीका बालबालिका र अपाङ्ग, असक्तलाई निःशुल्क उपचारको व्यवस्था गरिने, उच्च शिक्षा अध्ययनका लागि गाउँमै शैक्षिक संस्था स्थापना गरिने, सबै वडालाई प्रविधिमैत्री बनाई सेवा प्रवाहमा सहजता ल्याउने, विद्यार्थी दिवा खाजालाई थप व्यवस्थित गर्दै विस्तार गरिने, निर्माणधिन खानेपानी आयोजनालाई पूर्णता दिई दुई वर्षभित्र सबै घरमा खानेपानी पुर्याइने प्रतिबद्धता जनाइएको छ ।
यसैगरी, हरेक वडा र घरसम्म सहज सडकको पहुँच विस्तार गरिने, सामरी पुलदेखि बुढीचौरसम्म डीपीआर भइसकेको बासुदेव मार्ग सडक निर्माणलाई पूर्णता दिइने, गाउँमा आवश्यक अनुसार थप झोलुङ्गे पुल निर्माण गरिने, मकवानपुरगढीमा ९५ प्रतिशत घरमा बिजुली पुगेको र बाँकी घरमा एक वर्ष पुर्याइने र काठका पोल विस्थापित गरिने, पालिकाभित्रका उद्यमलाई आवश्यक पर्ने थ्री फेज लाइन विस्तार गरिने जनाइएको छ ।
प्रतिबद्धता पत्रमा वित्तिय पहुँच नभएका विपन्न वर्गका कुषकहरुलाई ५ वर्षका लागि स्थानीय तह, सहकारी, बैंक र सहजकर्ताबीच चौपक्षीय सम्झौता भएको किसान क्रेडिट कार्ड कार्यक्रम अझै प्रभावकारी बनाई लागु गर्ने, कृषकहरुलाई उत्पादन आधारमा प्रोत्साहन अनुदान कार्यक्रमअन्तर्गत दुग्ध, अनाज, तरकारी, फलफुल, मासुमा दिएको अनुदानमा सतप्रतिशत वृद्धि गरी किसानलाई थप प्रोत्साहन गरिने, जग्गाविहीन सुकुम्वासी, भुमिहीन दलितलाई जग्गा उपलब्ध गराउने अव्यवस्थित बसोबासीहरुको जग्गा नापी गरी पुर्जा उपलब्ध गराउने कामलाई पुर्णता दिईने उल्लेख छ ।
मकवानपुरगढीका वस्ती वसाउनका लागी योग्य भुगोलमा सबै खाले पुर्वाधारहरुको विकास र छनौट गरी व्यवस्थित वस्ती विकास योजना ल्याइने, मकवानपुरगढीको सम्पतिको रुपमा रहेका विशेष गरी तामाङ, मगर तथा अन्य जातजातीहरुको कलासंस्कार, भाषा, भेषभुषालाई संरक्षण र प्रवद्र्धन गरिने, गाउँपालिकाको सबै क्षेत्रमा सहज रुपमा टेलिकमको सेवा प्रवाह हुन सक्ने वातावरण तयार गरिने, दलित उत्पीडितहरुको वास्तविक अवस्था पहिचान गरी उनीहरुको जीवनस्तर उकास्ने सीप दक्षता बढाउने, आर्थिक, सामाजिक अवस्थामा परिवर्तन ल्याउने नमूना कार्यक्रम ल्याइने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।
‘नेकपा एमालेले “समृद्ध नेपाल सुुखी नेपाली”को परिकल्पना गरेसँगै “समृद्ध मकवानपुरगढी निर्माणका लागि आफ्नो श्रोत र साधनका बलमा, समृद्धि सम्भव छ हाम्रै पालामा” भन्ने उद्घोषका साथ २०७९ वैशाख ३० गते सम्पन्न हुन गईरहेको स्थानीय निर्वाचनमा पार्टीले विजय हासील गरेपश्चात पुरा गर्न संकल्पलाई यस घोषणा पत्रमार्फत नेकपा एमाले मकवानपुरगढी गाउँपालिका कमिटी पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्दछ ।,’ प्रतिबद्धता पत्रमा भनिएको छ ।