हेटौँडाको मेयर नेकपा एसलाई दिने निर्णय पुनरावलोकन गर्न माग

संवाददाता
बैशाख ८, २०७९

मकवानपुर– हेटौँडा उपमहानगरपालिकाको प्रमुख पद नेकपा एकीकृत समाजवादीलाई दिने गठबन्धनको निर्णय पुनरावलोकन गर्न कांग्रेस उपमहानगर समितिले माग गरेको छ ।

बुधबार पत्रकार सम्मेलन गरी उपमहानगर समितिले एकीकृत समाजवादीलाई मेयर दिने गठबन्धनमा सहमति भएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । कांग्रेस उपमहानगर सभापति उत्सव इटेनीले नेतृत्वलाई निर्णय सच्याउन माग गरिएको बताए ।

हेटौँडा उपमहानगरपालिकाको बस्तुगत अवस्थाबारे यसअघि नगर समितिका तर्फबाट पार्टीको केन्द्रीय कार्यसमितिका पदाधिकारीहरूलाई जानकारी गराए पनि बेवास्ता भएको इटेनीको भनाइ छ ।

‘पार्टी केन्द्रीय पदाधिकारीहरूलाई लिखित जानकारी गराउँदासमेत त्यसको मर्म र भावनालाई बेवास्ता गर्दै पार्टीका कार्यकर्ता र शुभेच्छुकसमेतको मनोभावनामा ठेस पुग्ने गरी उक्त सहमति भएको छ,’ इटेनीले भने । हेटौँडाको सबैभन्दा ठूलो पार्टी कांग्रेसको नेतृत्वमा चुनावमा सहभागी हुन गठबन्धनका दलहरूसमेत तयारी रहेको अवस्थामा केन्द्रीयस्तरबाट भएको भागबण्डाले गठबन्धनको आवश्यकता र औचित्यसमेत पूरा गर्न नसक्ने नगर सभापति इटेनीले बताए ।

‘यस निर्णयलाई पुनरावलोकन गरी गठबन्धनको वास्तविक आवश्यकता र औचित्यसमेत पुष्टि गर्न कांग्रेसले मेयर पद पाउने गरी गठबन्धन दलहरूबीच सहमति, सहकार्य र एकताको साथ अघि बढ्ने वातावरण तयार गरिदिन पार्टी नेतृत्वसमक्ष जोडदार माग गर्छौं,’ इटेनीले भने ।

गठबन्धनले निर्णय पुनरावलोकन नगरे सत्ता साझेदार गठबन्धनका दलहरूसँग मित्रवत् प्रतिस्पर्धा मात्रै गर्न सकिने उनले जानकारी दिए । कांग्रेस एकल नेतृत्वमा चुनावी प्रतिस्पर्धामा सहभागी हुने उनले बताए ।

कांग्रेस नगर समितिले मंगलबार बसेको बैठकबाट हेटौँडाको मेयरमा कांग्रेसबाहेक अन्य दललाई स्वर्कान नसकिने निर्णय गरेको थियो । हेटौँडाको मेयरमा एकीकृत समाजवादीबाट जिल्ला अध्यक्ष श्रीधर पोख्रेल र उपाध्यक्ष तथा वर्तमान उपमेयर मिनाकुमारी लामाको नाम सिफारिस भएको छ । मेयरमा पोख्रेलको सम्भावना बढी रहेको छ । साभारः शिलापत्रबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*