बागमती प्रदेश सरकारले तीन वटा मल कारखाना खोल्ने

संवाददाता
माघ १७, २०७८

हेटौंडा– बागमती प्रदेश सरकारले विभिन्न स्थानमा तीनवटा रासायनिक मल कारखाना स्थापना गर्ने भएको छ ।

प्रदेशभित्र तीन वटा मझौला प्रकारका मल कारखाना सञ्चालन गर्ने निर्णय सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो । तीन वटा मल कारखाना सञ्चालनका लागि जग्गाको खोजी भइरहेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण शर्मा खनालले बताए ।

बागमतीका मुख्यमन्त्री राजेन्द्र पाण्डेले केही दिन अघि मल कारखानाको लागि जग्गा खोज्दै हेटौंडा औद्योगिक क्षेत्र र चितवनको प्रस्तावित शक्तिखोर औद्योगिक क्षेत्रको निरीक्षण गरिसकेका छन् ।

किसानको प्रमुख समस्या रसायनिक मल समयमा नपाउनु भएकाले मुख्यमन्त्री पाण्डेले मल कारखाना खोल्न लागिपरेका छन् । प्रदेश सरकारले थाइल्याण्डको एक विदेशी कम्पनीसँग मल कारखाना खोल्नेबारे छलफल गरिरहेको आन्तरिक मामिला तथा कानुन मन्त्री खनालले बताए ।

‘मलको सँधै हाहाकार हुने । मलको टेण्डर गरेर पनि व्यापारीहरू पछि हट्ने समस्याले बद्नाम गरायो । अब प्रदेशमै मल कारखाना खोल्ने र यसको प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ,’ प्रवक्ता खनालले भने ।

तीन वटा मल कारखाना सञ्चालनका लागि जग्गाको खोजी भइरहेको उनले बताए । प्रदेश सरकारले थाइल्याण्डको एक विदेशी कम्पनीसँग मल कारखाना खोल्नेबारे छलफल गरिरहेको आन्तरिक मामिला तथा कानुन मन्त्री खनालले बताए ।

‘प्रदेश सरकारले यस विषयमा कम्पनीसँग छलफल गरिरहेको छ । हामी आवश्यक परामर्श गरेर अगाडि बढ्नेछौं ।’, उनले भने । थाइल्याण्डको कम्पनीले मल कारखाना सञ्चालनका लागि करिब २०० विगाह जमिन आवश्यक रहेको औंल्याएको छ ।

यसैगरी संघीय सरकार र निजीक्षेत्रसँगको साझेदारीमा प्रदेशभित्र तीन वटा सुरुङमार्ग निर्माण गर्ने बागमती सरकारले निर्णय गरेको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्री खनालले मकवानपुर र काठमाडौंलाई जोड्ने गरी भीमफेदी–चोभार, चितवन र धादिङ जोड्ने गरी हुग्दिखोला–शक्तिखोर र सिन्धुलीमा खुर्कोट–चियाबारी सुरुङमार्ग निर्माण गर्न प्रक्रिया अगाडि बढाउने निर्णय भएको जानकारी दिएका छन् ।

मन्त्रिपरिषद्को वैठकले प्रदेश सरकारअन्तर्गत् सञ्चालन हुने वहुवर्षे ठेक्काको पनि मापदण्ड तय गर्ने भएको छ । यसैगरी प्रदेश किताब खाना समेत सञ्चालनमा ल्याउने निर्णय वैठकले गरेको छ । ‘सामुदायिक विद्यालयमा अध्ययन गरेका सवै छात्रालाई स्नातकोत्तरको शिक्षा निःशुल्क गर्ने निर्णय समेत गरेका छौं ।’, मन्त्री खनालले भने ।

मन्त्रिपरिषद् बैठकले कृषि औजार कारखाना खोल्ने निर्णय गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*