‘कृषकको हित’मा कृषि तथा पशुपंक्षी मन्त्रालयको ५१ बुँदे मार्गचित्र

संवाददाता
पुस १५, २०७८

हेटौंडा । बागमती प्रदेशका कृषकहरुको हितका लागि भन्दै कृषि तथा पशुपंक्षी विकास मन्त्री बसुन्धरा हुमागाईंले ५१ बुँदे मार्गचित्र प्रस्तुत गरेका छन् ।

मन्त्रालयले ५१ बुँदे कृषि, पशुपन्छी तथा मत्स्यक्षेत्रको रुपान्तरण मार्गचित्र–२०७८ सार्वजनिक गरेको हो । मार्गचित्रमा प्रदेशको कृषि तथा पशुपन्छी क्षेत्रलाई कस्तो बानइने, कृषकहरुमा कार्यक्रम कार्यान्वयन कसरी गरिने र कृषिक्षेत्रको विकासको मोडललाई मन्त्रालयले कसरी अघि बढाउने भन्ने मूलभूत विषय समेटिएका छन् ।

मार्गचित्रमा कृषि क्षेत्रमा अनुदार लिएर अनुदार दुरुपयोग गर्नेलाई कानुनी दायरामा ल्याउने तयारी गरिएको उल्लेख छ । जसका लागि मन्त्रालयले उच्चस्तरीय अध्ययन टोली गठन गर्ने जनाएको छ ।

मन्त्रालयले प्रदेशभित्रका कृषकहरूको तीन तहमा वर्गीकरण गर्ने भएको छ । मन्त्रालयले कृषकको लगानी, उत्पादन क्षमता र आम्दानीलाई दृष्टिगत गरी वर्गीकरण गर्ने तयारी गरेको मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेले बताए । प्रदेशका कृषकहरूलाई व्यावसायिक (हरियो जोन), अर्ध व्यावसायिक (पहेँलो जोन) र निर्वाधमुखी (रातो जाने)मा वर्गीकरण गर्न लागिएको हो ।

मार्गचित्रमा कृषि, पशुपन्छी तथा मत्स्यक्षेत्रको व्यवसायीकरण, विकास र रोजगारी सिर्जना गरी समग्र अर्थतन्त्रलाई गतिशील र सुदृढ गर्न प्रदेश कृषि विकास ऐन बनाउने जनाइएको छ ।

मार्गचित्रमा पशुपन्छी, मत्स्य र कृषिक्षेत्रमा विभिन्न रोगहरूको कारणबाट हुने क्षतिलाई न्यूनीकरण गर्न रोक नियन्त्रण पूर्व तयारी तथा प्रतिकार्य योजना निर्माण गरी कार्यान्वयनमा लैजाने उल्लेख छ ।

मन्त्रालयले प्रदेश कृषि विकास ऐन तर्जुमा गर्ने, प्रदेश पोल्ट्री विकास बोर्ड स्थापना गर्ने, रासायनिक मल भण्डार कक्ष निर्माण गर्ने जस्ता महत्वपूर्ण विषयहरु समेटेर ५१ बुँदे मार्गचित्र तयार पारेको हो ।

जसमा ‘स्वस्थ माटो, कृषि उत्पादनको मूल बाटो’ अभियान सार्थक बनाउन स्थानीय तहहरुमा डिजिटल माटो परीक्षण प्रविधि हस्तान्तरण गरिने जनाइएको छ।

प्रस्तुत मार्गचित्र बारे धारणा राख्दै मन्त्री हुमागाईंले आफु इमान्दार भएर काम गर्ने बताएका छन् । ‘आफु इमान्दार भएकै कारण आफ्नो मन्त्रालयमा पारदर्शिता कायम हुनेछ ।,’ उनले भने ।

बागमतीमा माग र आवश्यकता अनुसार अनुदान लगायत भौतिक संरचना तथा कृषकको हितको लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे । काम नगर्ने ठेकेदारको विरुद्ध कारबाही प्रक्रिया अघि बढाउने बताउँदै समग्र प्रदेशमा कृषकको हितको लागि काम गर्ने उनको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*