सिमभञ्ज्याङ–दामनमा हिमपात जारी, अझै खुलेन त्रिभुवन राजपथ

संवाददाता
पुस १५, २०७८

मकवानपुर— मकवानपुरको उत्तरीक्षेत्रस्थित सिमभञ्ज्याङ–दामन क्षेत्रमा हिमपात हुँदा त्रिभुवन राजपथ दुइदिन देखि अवरुद्ध बनेको छ ।

त्रिभुवनराजपथ अवरुद्ध भएपछि यसक्षेत्रबाट ओहोर दोहोर गर्ने सवारीका साधनहरु चल्नका लागि समस्या भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मंगलबार रातिदेखि वर्षासँगै हिमपात हुँदा त्रिभुवन राजपथ अवरुद्ध बनेको हो ।

थाहा नगरको सिमभञ्ज्याङ, दामन तथा भीमफेदी गाउँपालिकाको गोलमोड, अघोर तथा झिरघारी क्षेत्रमा हिमपात भएसँगै त्रिभुवन राजपथ भएर चल्ने सवारी चल्न नसकेको थाहा नगरका मेयर लवशेर विष्टले जानकारी दिए ।

दामन क्षेत्रमा–१ फिट भन्दा बढी हिउँ जमेको र हिउँ परिरहेकोले काठमाडौंबाट हेटौंडातर्फ र हेटौंडाबाट काठमाडौंतर्फ जाने विभिन्न सवारीसाधनहरु रोकिएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक राजकुमार सापकोटाले बताए ।

सवारी बलजफ्ती चलाउँदा दुर्घटना हुने देखिएकोले यातायात सञ्चालनमा रोक लगाएको प्रहरी निरीक्षक सापकोटाले बताएका छन ।

‘काठमाडौंबाट आएको सवारी पालुङमै रोकिएको छ । हेटौंडबाट गएका गाडी अघोरमा रोकिएको छ । तत्काल बाटो खुल्ने सम्भावना छैन,’ सापकोटाले भने । उनका अनुसार बिहान ६ बजेबाट सवारी रोकिएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*