माओवादी सशस्त्र द्वन्द्वबाट प्रभावित मकवानपुरकी असक्त महिलालाई घरमै पुगेर नागरिकता

संवाददाता
पुस १०, २०७८

हेटौंडा । मकवानपुरको पश्चिमी क्षेत्र मनहरी गाउँपालिकाकी एक अशक्त महिलालाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ ।

तत्कालनीन माओवादी सशस्त्र द्वन्द्वबाट प्रभावित भई मानसिक र शारिरीक रुपमा अशक्त बनेकी मनहरी–९ निवासी ३२ वर्षीया लिलावती गिरीलाई घरमै पुगेर नागरिकता दिइएको हो ।

नागरिकता प्रमाणपत्र बनाउन जिल्ला प्रशासन कार्यालय, मकवानपुरसम्म ल्याउन नसक्ने अवस्था रहेकोले मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीसहित मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले उनलाई घरमै पुगेर नागरिकता दिएका हुन् ।

नागरिकता नबनेकै कारण नेपाल सरकार एवं स्थानीय तहबाट प्रदान हुने सामाजिक सुरक्षालगायता अन्य सुविधाबाट वञ्चित थिइन् गिरी । अब भने उनले राज्यबाट प्राप्त गर्ने सुविधा पाउने भएकी छन् ।

यसरी घरमै आएर राज्य निकायबाट नागरिकता प्रदान गरेकामा आफूलाई ठूलो राहत महशुस भएको अशक्त गिरीको दाइ संरक्षक गिरीले खुशी व्यक्त गरे । उनले नागरिकता विहीन अवस्थामा समस्या भोग्दै आएकाले गाउँपालिका अध्यक्षले नागरिकता प्राप्तिका लागि सहयोग गरेको भन्दै धन्यवाद व्यक्त गरे ।

गिरी २०५९ सालमा माओवादी द्वन्द्वको समयमा घर नजिकै एम्बुस विस्फोटमा परेको गाउँपालिका अध्यक्ष उप्रेतीले बताए । विस्फोटमा परेर उनले श्रवणशक्तिको साथै मानसिक सन्तुलन गुमाएको उनले बताए ।

सुरक्षा फौजलाई लक्षित गरेर तत्कालीन विद्रोही माओवादीले एम्बुस विस्फोट गराउँदा एम्बुस विस्फोटको आवाजले उनी त्यतिबेला भूइँमा ढलेकाले कान सुन्न र मानसिक सन्तुलन गुमाएको अध्यक्ष उप्रेतीको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*