सकियो जडिबुटी खेती सिकाउने तालिम

संवाददाता
पुस २, २०७८

हेटौंडा–बागमती प्रदेशका १३ वटै जिल्लामा रहेको जडिबुटीसँग सम्बन्धित सहकारीलाई दिइएको जडिबुटीको खेती तालिम सकिएको छ । हरेक जिल्लास्थित रहेको सहकारी एक जना प्रतिनिधिलाई हेटौंडाको एउटा गाउँमा ल्याएर वनस्पती अनुसन्धान केन्द्र मकवानपुरले जडिबुटी खेती सिकाउन र यसको महत्व थप बुझाउन तालिम दिएको थियो ।

हेटौंडा उपमहानगर–पालिका–१३ मा रहेको प्रस्ताविक मझुवा होमस्टे क्षेत्रमा गत मंगलबारदेखि तालिम सञ्चालन भएको हो । मझुवामा होमस्टे सञ्चालन गर्ने तयारीमा स्थानीय छन् । स्थानीयको होमस्टे सञ्चालन गर्ने योजनामा वनस्पति अनुसन्धान केन्द्रले मद्दत पुर्याएको छ । । तालिमले गाउँको पर्यटन प्रवद्र्धन गरेको स्थानीय होमस्टे सञ्चालन गर्नेहरुले बताएका छन् ।

तालिममा स्थानीयहरुले सहयोग गरेका थिए । जडिबुटीको महत्व, यसको खेती गर्ने तरीका, प्राकृतिक जडिबुटीको पहिचान कसरी गर्ने र यसको संरक्षणलगायतका विषयमा तालिममा सहजीकरण गरिएको थियो । वनस्पती अनुसन्धान केन्द्र मकवानपुरका प्रमुख रघुराम पराजुलीको सभाध्यक्षता भएको तालिम समापन कार्यक्रममा बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री विशाल खड्काको प्रमुख अतिथ्यता रहेको थियो ।

मन्त्री खड्काले सहकारी मार्फत वन र वनसँग जोडेर जडिबुटी खेतीगर्न नीतिगत रुपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले समूहगत छलफल गरी जडिबुटी सहकारीमार्फत खेतीलाई अघि बढ्न आग्रह गरेका छन् । तीन दिन सञ्चालन भएको तालिममा प्रदेशका १३ जिल्लाका प्रारम्भिक सहकारी संस्था र जिल्ला जडिबुटी सहकारी संघका प्रतिनिधिहरुको सहभागिता थियो ।

तालिममा वनस्पती अनुसन्धान र जडिबुटिको परिचय, ड्रयागन फ्रुट, मेवा तथा च्याउ खेती, जडिबुटीबारे विद्यमान नीतिगत प्रावधान, बागमती प्रदेशमा जडिबुटी खेतीको विस्तार, सम्भाव्यता, समस्या, चुनौती र अवसरका साथै प्रशोधनबारे जानकारी दिएको वनस्पती अनुसन्धान केन्द्रले जनाएको छ । कालीकाठ, लौठसल्ला, कुरिलो र चिराइतो खेतीप्रविधि, जडिबुटीको बजारीकरणको अवस्था, जडिबुटी नर्सरी प्रविधि, संकलन तथा दिगो बजारका विषयमा तालिममा छलफल गरिएको छ ।

नेपाल जडिबुटी सहकारी महासंघ केन्द्रीय अध्यक्ष ईश्वरी प्रसाद पाण्डेले मंगलबार तालिमको उद्घान गर्दै जडिबुटीजन्य वस्तु उत्पादन गरि आर्थिक क्षेत्रमा सुधार आउन उद्यम विकास तालिम आवश्यक रहेको बताएका थिए । उनले खेरगएका र हामीले नचिनेको जडिबुटिलाई पहिचान गरी संकलन तथा खेती गरी खरिद विक्री गर्नसके आर्थिक क्षेत्र मजबुत हुने दावी गरेका छन् । बागमतीमा जडिबुटिको खानी रहेको पाण्डेको दावी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*