दुबईमा अलपत्र परेका हाँडीखोलाका जिम्बालाई प्रवासी युवाले गरे उद्दार

संवाददाता
मंसिर २५, २०७८

हेटौंडा– वैदेशिक रोजगारका क्रममा दुबईमा पुगी बिरामी भएर अलपत्र बनेका मकवानपुरको मनहरी गाउँपालिका–३ हाँडीखोलाका बिक्रम जिम्बालाई प्रवासमा रहेका युवाहरुले उद्दार गरी नेपाल फर्काएका छन् । जापान, दुबई, कतार, साउदीलगायतका देशमा रहेका युवाहरुले आर्थिक् सहयोग जुटाएर जिम्बालाई बिहीबार नेपाल फर्काएका हुन् ।

दुबईमा एक कम्पनीमा कार्यरत जिम्बा तीन महिनाअघि काम गर्दागर्दै बेहोस भई ढलेका थिए । उनको उपचारको क्रममा पेटको अप्रेशन भयो । साथै उनको उपचार नसकिँदै भिसाको अवधि सकियो । अस्पतालमा उपचार हुँदै गर्दा भिसा सकिएपछि उनी बेसाहारा बनेका थिए ।

अवैधानिक बनेपछि नेपाल फर्कन पनि समस्या भएको र काम पनि नपाएपछि जिम्बा अलपत्र अवस्थामा थिए । हाँडीखोला स्थायी निवासी अर्जुन सुनामले जिम्बाको नाजुक अवस्थाबारे जापानमा रहेका श्रीराम रिजाललाई जानकारी गराए ।

हाँडीखाला निवासी रिजालकै संयोजकत्वमा जिम्बालाई नेपाल फर्काउनको लागि आवश्यक रकम जोहो गर्ने अभियान सुरु भयो । करिब एक हप्ताको अवधिमा रिजालको नेतृत्वमा करिब एक लाख रुपैयाँ जुटाएर उनलाई नेपाल फर्काइएको हो । ‘भाइको नेपालमा पनि कोही अभिभावक रहेनछन् । उनी हाँडीखोलामा ठूलोबाको घरमा बस्ने रहेछन् । अलपत्र भएपछि पैसा खर्च गरेर उद्दार गरिदिने कोही नभएपछि हामीले पहल गरेर नेपाल फर्काउन सफल भयौं ।’ रिजालले भने ।

नेपाल फर्किसकेपछि पनि उनको थप उपचार गर्न आफूहरुले सहयोग जुटाउने उनले बताए । जिम्बालाई नेपाल झिकाउनको लागि साउदीमा रहेका विपिन न्यौपाने, जनक विष्ट, दिपक अर्याल, अर्जुन सुनाम, मिलन लामा, रमेश सुनाम, पर्शुराम ऊप्रेती लगाएतका युवाहरुले सहयोग गरेका थिए । दुबईमा रहेका देवेन्द्र सुवेदी र राम बावु रेग्मीले भौतिक ऊपस्थितिमै आवश्यक प्रक्रियाहरु मिलाएर सहयोग गरेका थिए । दुवईबाटै मनिष लुईटेल र अजय पुडासैनीले पनि आर्थिक सहयोग गरेका थिए ।

फेसबुक ग्रुप च्याटमा ‘बिक्रम बचाउ अभियान’ सञ्चालन गरी श्रीराम रिजालको संयोजकत्वमा रकम संकलन सुरु गरिएको थियो । नेपाल फर्किएका जिम्बालाई उनकी दिदी समृद्धि लामाको जिम्मा लगाइएको छ । उनको थप उपचारको लागि हाँडीखोला निवासी सञ्जीव पाठक र मनहरी हस्पिटलका सिनियर अहेब ज्योतिराज लुइटेल लगायतको टिमले पहल गरिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*