मकवानपुरगढीमा आजदेखि मतदाता नामावली संकलनः मक्राञ्चुलीमा कार्यालय खोलियो, प्रत्येक वडाबाट बस सेवा

संवाददाता
मंसिर १७, २०७८

हेटौंडा– मकवानपुरगढी गाउँपालिकामा मतदाता नामावली संकलन विशेष कार्यक्रम आज शुक्रबारदेखि सुरु भएको छ ।

गाउँपालिका कार्यालयले मतदाता नामावली संकलनका लागि गाउँपालिकाको केन्द्र मक्राञ्चुलीमा कार्यालय स्थापना गरेको छ । पुरानो गाउँपालिका कार्यालयको भवन (हाल वडा कार्यालय)मा मतदाता नामावली संकलनका लागि कार्यालय सञ्चालन गरिएको हो ।

यही कार्यालयबाट आज १७ मंसिर शुक्रबारदेखि २ पुससम्म उमेर पुगेका नयाँ मतदाता नामावली संकलन गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले जानकारी दिए ।

गाउँपालिकाको ८ वटै वडालाई समयावधि तोकेर १६ वर्ष उमेर पुगेर नेपाली नागरिकता लिएका तर मतदाता नामावलीमा नाम छुटेकाहरुका लागि नाम प्रविष्टी गराउन मतदाता नामवली संकलन कार्य सुरु गरेहो हो ।

मतदाता नामावली संकलनको पहिलो दिन मंसिर १७ गते वडा नम्बर ३ का वडाबासीको मात्रै नामावली संकलन गरिने भएको छ । ३ नम्बर वडाका १६ वर्षभन्दा माथिकाले नयाँ मतदाता नामावली बनाउन बिहान ८ बजेदेखि ५ बजेसम्म मक्राञ्चुलीस्थित कार्यालयमा पुग्नु पर्नेछ ।

मतदाता नामावली प्रविष्ट गराउन आउने नागरिकले नेपाली नागरिकताको सक्कली प्रमाणपत्र र त्यसको फोटोकपी लिएर आउनु पर्नेछ ।

बसाईंसराइ गरी आएको हकमा बसाईंसराई सक्कलै र त्यसको फोटोकपी तथा बिबाह गरेको हकमा विबाह दर्ताको प्रमाणपत्र र त्यसको फोटोकपी लिई आउनु पर्नेछ । मंसिर १८ र १९ गते वडा नम्बर ४ का वडाबासीको नामावली संकलन गरिने छ ।

मंसिर २० र २१ गते वडा नम्बर ५ तथा मंसिर २२ र २३ गते वडा नम्बर ६ का वडाबासीको मतदाता नामावली संकलन गरिने गाउँपालिकाको पञ्जिकरण शाखाकी मानकुमारी तिमल्सिनाले जानकारी दिइन् ।

यसैगरी, मंसिर २४ र २५ गते वडा नम्बर २, मंसिर २६ र २७ गते वडा नम्बर १ मा, मंसिर २८ र २९ गते वडा नम्बर ७ र पुस १ र २ गते वडा नम्बर ८ को लागि समय निर्धारण गरिएको छ । तोकिएको दिन सम्बन्धित वडामा गाउँपालिकाले बस सेवा सञ्चालन गर्ने निर्णय गरेको छ ।

बसले मक्राञ्चुली र पुनः वडासम्म पु¥याउने व्यवस्था गर्ने प्रमुख प्रशासकीय अधिकृत पुडासैनीले सोधिखोजीलाई जानकारी दिए । उनका अनुसार १६ वर्ष उमेर पुगेकाले मतदाता नामावली संकलन कार्यक्रममा सहभागिता जनाउन पाउने र मतदाता परिचय पत्र भने १८ वर्ष पुगेपछि पाउने छन् ।

१८ वर्ष पुगेकालाई नयाँ मतदाता नामावली संकलन गर्न यो कार्यक्रम ल्याइएको हो । पुरानो मतदाताले कुनै कुरा सच्याउन परेमा भने गाउँपालिका आएर नहुने पुडासैनीले बताए ।

‘यहाँ नयाँ मतदाता नामावली मात्रै संकलन गरिने हो । १६ वर्ष उमेर माथिकाले मात्रै कार्यक्रममा सहभागिता जनाउने हो । पुरानाले मतदाता नामावलीमा हेरफेर गर्नुपरेमा जिल्ला प्रशासन वा निर्वाचन कार्यालय जानुपर्नेछ ।,’ पुडासैनीले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*