मुख्यमन्त्री शाक्यको दुई महिने उपलब्धीः साक्षर प्रदेश घोषणा र बाढीपहिरो पीडितलाई राहत

संवाददाता
कार्तिक ४, २०७८

हेटौंडा–पहिलो महिला मुख्यमन्त्रीका रुपमा अष्टलक्ष्मी शाक्यले बागमती प्रदेश सरकारको नेतृत्व गरेको बिहीवार दुई महिना दुई दिन पुग्यो ।

२ भदौमा मुख्यमन्त्रीको सपथ लिएकी शाक्य केही दिनभित्रै नेकपा (एमाले) विभाजनपछि अल्पमतमा परेकी थिइन् । अल्पमतको सरकार सञ्चालन गर्दै आएकी शाक्यले २४ असोजमा विश्वासको मत लिने प्रयोजनका लागि प्रस्ताव टेबुल गरेकी थिइन् ।

विश्वासको मतसम्बन्धि प्रक्रियाको छलफलका क्रममा बिहीवारको बैठकमा शाक्यले आफ्नो दुई महिने कार्यकालको उपलब्धी सार्वजनिक गरेकी छन् ।

मुख्यमन्त्री शाक्यले ११ असोजमा बागमतीलाई साक्षर प्रदेश घोषणा गरेकी थिइन् । उनले सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई ९० लाख रुपैयाँ राहत उपलब्ध गराएको बताएकी छन् ।

प्रदेशका १३ वटै जिल्लामा विपद् व्यवस्थापनका लागि १०–१० लाख रुपैयाँ पठाइएको जानकारी दिइन् । उनले जिल्लामा विपद्का लागि पहिलो पटक १० लाख दिइएको पनि उल्लेख गरिन् ।

उनले आफ्नो कार्यकालमा प्रदेश सरकार मातहतका अस्पताललाई स्तरोन्नती गरिएको र स्वास्थ्य क्षेत्रको विकासका लागि स्वास्थ्य मन्त्रालय गठन गरेर काम गरेको बताइन् ।

१३ वटै जिल्लामा पीसीआर मेसिन र अस्पतालहरुमा अक्सिजन प्लान्ट निर्माणलाई प्राथमिकताका साथ अघि बढाइएको उल्लेख गरेकी छन् ।
उनले प्रदेश सरकारका मन्त्रीहरुका लागि आचारसंहिता लागू गरी कार्यान्वयन गरिएको बताएकी छन् ।

प्रदेश सरकार कृषि उत्पादनमा आत्मनिर्भरतर्फ बगाडि बढाउन काम गरेको शाक्यको दाबी छ । वित्तीय अनुशासन कायम गर्न आवश्यक सजगता अपनाइएको र जिल्लास्थित कार्यालयहरुमा सुशासनको क्षेत्रमा धेरै काम गरेको उनको भनाई छ ।

शाक्यले निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलको नेतृत्वमा साढे ३ वर्षसम्म भएका उपलब्धीहरु प्नि प्रदेशसभामामा प्रस्तुत गरेकी थिइन् । उनले बागमती प्रदेश सबैभन्दा कम बेरुजु हुने प्रदेशका रुपमा स्थापित भएको दाबी गरेकी छन् ।

‘आफ्नो नेतृत्वको सरकारले समाजवाद उन्मुख कार्यक्रम सञ्चालन गर्दै समृद्धिको यात्रामा अघि बढिएको थियो ।,’ शाक्यले भनेकी छन् ।
गत आर्थिक वर्ष २०७७÷०७८ मा प्रदेश सरकारले ६० अर्ब आम्दानी गरेको उनले बताइन् ।

सरकारले कोभिड–१९ नियन्त्रण र रोकथामका लागि प्रभारकारी काम गर्दै स्वास्थ्य संस्थामा स्वास्थ्य उपकरण जडान गरी प्रविधिमैत्री बनाइएको जानकारी दिइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*