नागरिक सचेतलाई मकवानपुरगढीको भलिवल उपाधि

हेटौंडा– मकवानपुरगढीमा जारी गाउँपालिका स्तरीय रनिङशिल्ड भलिवल प्रतियोगिताको उपाधि ७ नम्बर वडाको नागरिक सचेत (ए) क्लबले उचालेको छ ।
मकवानपुरगढी–६ डुम्रेकुनामा मंगलबार भएको फाइनल खेलमा नागरिक सचेतले र ८ नम्बर वडाको बुढीचौर क्लबलाई सहजसँग पराजित गरेको थियो ।
नागरिक सचेतले बुढीचौरलाई २५–१६, २५–२३ र २५–१७ को सोझो सेटमै निरीह बनाएको हो । उपाधि जितेसँगै नागरिक सचेतले ३० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाएको छ । बुढीचौरले २० हजार रुपैयाँमै चित्त बुझायो ।
नागरिक सचेतका राज थिङ प्रतियोगिताको उत्कृष्ट खेलाडी चुनिए । त्यस्तै उत्कृष्ट स्पाइकर बुढीचौरका रुपेन्द्र दोङ भएका थिए भने उत्कृष्ट सेटर नागरिक सचेतका रमेश वाइवा हुन सफल भए ।
सोमबार भएको सेमिफाइनल खेलमा नागरिक सचेतले आमभञ्ज्याङ क्लबलाई २५–१८, १६–२५ र १५–१३ को सेटमा पराजित गर्दै फाइनल पुगेको थियो ।
बुढीचौरले आयोजक सनराइज युथ क्लब (ए)लाई २५–१९ र २५–२१ को सोझो सेटमा हराउँदै नागरिक सचेतसँगको भेट पक्का गरेको थियो ।
मकवानपुरगढी गाउँपालिका अध्यक्ष बिदुर हुमागाईंले विजेता तथा उपविजेता खेलाडीलाई पुरस्कार प्रदान गरेका थिए । आयोजक सनराइज युथ क्लबका अध्यक्ष प्रेमबहादुर स्याङ्तानको सभाध्यक्षतामा प्रतियोगिताको समापन गरिएको थियो ।
प्रतियोगितामा मकवानपुरगढी गाउँपालिकाले प्रयोजन गरेको हो । प्रतियोगितामा गाउँपालिकाभरीका ९ वटा क्लबले प्रतिस्पर्धा गरेको आयोजक क्लबका सचिव तथा खेल संयोजक अशोक स्याङ्तानले जानकारी दिए ।