दशैंको मुखमा हेटौंडाका एटिएम बन्द, बैंकको लापरबाही की प्राविधिक समस्या ?
हेटौंडा । दशैंको मुखमा सर्वसाधारणहरुको चहलपहल बाक्लै हुन्छ । आइतबार र सोमबार हेटौंडाको भिडभाड बाक्लै थियो । बडा दशैंमा आर्थिक कारोबार पनि बाक्लै हुने गर्छ ।
तर, दशैंको सार्वजनिक बिदा हुनुअघिको अन्तिम दिन सोमबार धेरै सर्वसाधारणको भिडभाड बैंकमा थियो । तर, बैंकका एटिएम भने दिउसै बन्द । खुल्लै रहेका एटिएममा पनि थिएन पैसा ।
दशैं किनमेलका लागि आएका सर्वसाधारणहरु एटिएम चलेपछि रित्तो हात फर्किरहेका थिए । ‘बजारमा सामान किन्न हटियादेखि आएको बैंकको एटिएममा पैसा झिक्न खोजेको पैसा नै सक्किएको रे ।,’ एक महिलाले भनिन् ।
हेटौंडाका करिब एक दर्जन बैंकका एटिएम अनेक बहानामा दिउँसोदेखि नै बन्द थिए । २४ घण्टा खुल्लै राख्नुपर्ने एटिएम सुरक्षाको समस्या देखाउँदै बैंकहरुले साँझमै बन्द गर्ने गरेको पाइएको छ ।
दशैंको मुखमा बैंकहरुले एटिएम बन्द गर्ने, पैसा नहालेका कारण सर्वसाधारणहरु असन्तुष्ट बनेका थिए । ‘एटिएम कतै बिग्रिएको बहाना गर्छन कतै पैसा जम्मा गर्न नभ्याएको भन्छन् । आलटाल गरेर बस्छन् दुःख हामीले पाउनु पर्छ । समस्या परेको बेला तत्काल समस्या हल होस् भनेर एटिएम चाहिने हो । समस्यामा यो एटिएम काम नलागेपछि के अर्थ ?,’ सेवाग्राहीहरु गुनासो गर्छन् ।
सोमबार हेटौंडाका खुलेका एटिएममा पनि सर्वसाधारणको बाक्लो लाइन थियो । बैंकभित्र र बाहिर एटिएममा पनि बाक्लो लाइन भएकाले पनि बैंकहरुले एटिएममा पैसा हाल्न नभ्याएको समस्या देखाएका छन् ।
केही बैंकले प्राविधिक समस्या देखाएका छन् भने केहीले कामको चापले नभ्याएको जवाफ दिने गरेको पाइएको छ । तर, एटिएमबाट सहजसँग सेवा किन दिन नसकेको त्यसको वास्तविक कारण भने बैंकलाई नै थाहा छ ।
उता दशैंको मुखमा एटिएम बन्द हुँदा सर्वसाधारणहरुको दुःख पाइरहेको विषय मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे सामू पुगिसकेको छ । उनले बैंकहरुलाई २४ सै घण्टा एटिएम सञ्चालन गर्न लगाउने बताएका छन् । उनले सर्वसाधारणहरुलाई समस्या पर्ने गरी बैंकहरुले कुनै बहानामा एटिएम सेवा बन्द गर्न नहुने जनाए ।
नेपाल बैकर संघ मकवानपुरका अध्यक्ष रमेश प्याकुरेलले भने केही बैकहरुले एटिएम सेवा बन्द भएको भन्ने जनगुनासो आएको बताए । सबै बैंकले एटिएम सेवा २४ सै घण्टा दिनुपर्नेमा त्यसो हुन नसकेको जानकारी आफूलाई आएको प्याकुरेल बताउँछन् ।
कुनै बैंकले एटिएममा पैसा राखेर सेवाग्राहीहरुलाई सेवा प्रवाह गरिरहेका छन् । तर, केही बैंकले भने एटिएममा राख्ने पैसा नै काउन्टरमा राखेर दैनिक कारोबार चलाउँदै आएको बुझिएको छ ।