मन्त्री बन्दै विरोध खतिवडाले तोडे यस्तो ‘रेकर्ड’

हेटौंडा । नेकपा (एकीकृत समाजवादी)को नेतृत्व गर्दै मकवानपुरको कम्युनिष्ट आन्दोलनका धरोहर मानिएका विरोध खतिवडा मन्त्री बनेका छन् ।
उनलाई गठबन्धन सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
३० वर्षे राजनीतिक जीवनमा नेता खतिवडा पहिलो पटक मन्त्री बनेका छन् । उनले पहिलो पटक मन्त्री बनेर इतिहासमा एउटा नाम लेखाए । सँगसँगै मकवानपुरबाट कमल थापापछि मन्त्री बन्ने नेताको रेकर्डपनि खतिवडाले राखे ।
नेपाली राजनीतिमा ‘मुसा प्रवृति’का भनेर चिनिएका थापा धेरै पटक मन्त्री भइसकेका छन् । राप्रपामा लामो समयदेखि अध्यक्ष भइराखेका थापाले त्यसकै लाभमा शाहीकालदेखि मुलुकको हरेक राजनीतिक परिवर्तनमा मन्त्री पद सम्हालिसकेका छन् ।
थापापछि मकवानपुरबाट चुनाव जित्ने कुनै नेतापनि मन्त्री हुन सकेका थिएनन् । यसअघि कांग्रेसका दुई नेता राज्यमन्त्रीसम्म भएका थिए ।
२०४८, २०५१, २०५६ र २०७४ गरी चार पटक सांसद भएका खतिवडाले मन्त्री हुन लामो समय पर्खनु परेको हो । २०२८ सालदेखि विद्यार्थी राजनीति सुरु गरेका खतिवडाले बहुदल स्थापना, विद्यार्थी र मजदुर आन्दोलनमा होमिएर पाँचवर्ष जेल जीवन बिताएका पनि छन् ।
खतिवडाले पहिलो पटक २०३७ मा काठमाडौंको सेन्ट्रल जेलमा जेल जीवन बिताए । त्यतिबेला उनी केपी ओली, राधाकृष्ण मैनाली, वेदुराम भुषालसँगै जेलमा बसेका थिए ।
खतिवडाले मकवानपुरमा विद्यालय, सडक, सिँचाई, स्वास्थ्यचौकी, पुल, विद्युतीकरणलगायत विकास निर्माणमा अगुवाई गर्दै आएका छन् ।
२०७४ सालमा प्रतिनिधिसभा सदस्य जितेपछि खतिवडा राज्यको महत्वपूर्ण पदमा नहुँदापनि थाहा नगरपालिका, मनहरी, राक्सिराङ, मकवानपुरगढी, कैलाश र इन्द्रसरोबर गाउँपालिकाको नदी नियन्त्रणदेखि सडक, खानेपानी र विद्युतमा बजेट पारेर काम गराएका छन् ।