अभियुक्त भारत पुगिसक्दा पनि प्रहरीले सुइँको पाएन
जिल्ला अदालत काठमाडौँले सफाइ दिएलगत्तै मंगलबार साँझ नक्खु कारागारबाट उम्किए दुर्गाबहादुर बुढाथोकी। कारागारबाट छुटेपछि उनलाई श्रीमतीले जिम्मा लिइन्।
कारागारमा भारतकै मोबाइल नम्बर राखिन् र दुर्गाबहादुरलाई लिएर त्यसै साँझ बाटो लागिन्। प्रहरीले १२ वर्ष लगाएर भारतबाट ल्याएका दुर्गाबहादुर १० महिना थुनामा बसेपछि निर्दोष ठहरिए।
बम
दुर्गाबहादुर अदालतबाट सफाइ पाएर छुटिसकेका थिए। तर, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भने भोलिपल्ट मात्रै थाहा पायो। त्यतिबेला उनी भारत नै पुगिसकेका रहेछन्।
‘ऊ छुटेको हामीलाई त थाहा नै भएन, पछि बुझ्दा कारागारमा पनि भारतीय नम्बर टिपाएका रहेछन्, सम्पर्क हुनै सकेन,’ सीआईबीका एक अधिकारीले भने।
बम
गत पुस दोस्रो साता सीआईबीको टोलीले भारत नै पुगेर उनलाई पक्राउ गरेको थियो। ०६५ पुस १ गते भ्याली कोल्डस्टोरका मालिक बाबुराजा रावललाई अपहरण गरी फिरौती लिएको आरोप उनीमाथि थियो।
जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद निरौलाले प्रहरीले दुर्गाबहादुर अभियुक्त भएको दाबी गरे पनि उनी अर्कै व्यक्ति भएको भन्दै सफाइ दिए। उनले इजलासमा तीर्थ क्षेत्रीको नाति, शिवा क्षेत्री र तारा क्षेत्रीको छोरा प्रकाश क्षेत्री हुँ भने।
अभियोग पत्रमा भनिएको व्यक्ति आफू नभएको बताए। घर पनि भारतको पश्चिम बंगालमा पर्ने दार्जिलिङ भएको दाबी गरे। प्रहरीले अभियोग पत्रमा दुर्गाबहादुर भएको दाबी गरे पनि प्रमाणका रुपमा उनको कागजात पेस गर्न सकेको थिएन।
तर, बयानका क्रममा भने उनले अपराध स्वीकार गरेका थिए। त्यसलाई अदालतले प्रमाण मानेन र दुर्गाबहादुरलाई सफाइ दियो। प्रहरी प्रमाण जुटाउन चुक्दा अपराध स्वीकारेका व्यक्तिलाई पनि अदालतले उन्मुक्ति दियो।
प्रहरीले पेस गरेका प्रमाणलाई भन्दा अभियुक्तको बयानलाई अदालतले विश्वास ग¥यो। पीडितले पनि दुर्गाबहादुर उनै भएको बताएका थिए। प्रहरीले भिडिओ बयान पनि गराएको थियो। अदालतमा यसबारे सोधिँदा उनले प्रहरीले दबाब दिएर बोल्न लगाएको बताए।
सरकारी वकिल कार्यालयमा भएको बयानमा पनि उनले आफ्नो संलग्नता स्वीकार गरेका थिए। सोले भनिने दुर्गाबहादुर बुढाथोकी आफैँ भएको उनी स्वीकार्थे। तर, अदालतमा उनले बयान बदले।
अपहरणको अभियोगपछि उनी परिचय नै बदलेर दार्जिलिङ बस्दै आएका थिए। सर्लाहीको हरिवन ९ ढुंग्रेखोलाका दुर्गाबहादुर बुढाथोकी दार्जिलिङ पुगेपछि प्रकाश क्षेत्रीको नाममा चिनिन थाले। भारतको आधार कार्डमा पनि उनको नाम प्रकाश क्षेत्री नै भयो। प्रकाश स्टोर नाम राखेर पसल खोले।
अपराध मेट्न उनले आफ्नो साँचो नाम दुर्गाबहादुर पनि मेट्दै गए। यसअघि सोही मुद्दाका अन्य अपराधीमाथि अदालतले सजाय तोक्दा पनि उनीबारे फैसला भएको थिएन। त्यतिबेला पनि यही समस्या भएको थियो। प्रहरीले उनको तीनपुस्ते खुलाउन नसक्दा उनीविरुद्ध फैसला भएको थिएन।
१२ वर्ष लगाएर पक्रिए पनि यही कमजोरीले दुर्गाबहादुरले सफाइ पाए। अब पुनरावेदन हुने प्रहरी श्रोतले बतायो।
अपहरण गरेर बन्धक बनाउँदा बाबुराजालाई रुङ्ने काम उनैले गरेको र पछि फिरौती लिन पनि उनै पुगेको प्रहरीको अभियोग थियो। उनीसहित प्रल्हाद महत, विष्णु जिसी, विकास कार्की, टासी गुरुङ, विनोद कार्की र अनिल गुरुङले अपहरण गरेको प्रहरीको दाबी छ।
उनीहरुले बाबुराजालाई अपहरण गरेर डेढ करोड रुपैयाँ फिरौती लिएका थिए। फिरौती लिइसकेपछि भोलिपल्ट टोखामा लगेर छाडिदिएका थिए। अरुलाई पहिल्यै सजाय भइसकेको छ। तर, त्यतिबेला सजाय नै नतोकिएका दुर्गाबहादुर अदालतमै उभ्याउँदा पनि सफाइ पाएर भारत फर्किएका छन्।
नाम फरक पर्दा दोषी छुट्ने नजिर
यसअघि पनि केही अभियुक्त यसैगरी नाम फरक पर्दा छुटेका थिए। अपराध उसैले गरेको भन्ने पुष्टि हुँदा पनि प्रहरीको सामान्य त्रुटिले अपराधीले उन्मुक्ति पाउँछन्।
गण्डकी प्रदेशका खेलकुद मन्त्री दीपक मनाङेलाई २०६४ सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक वर्ष कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला ग¥यो। अभिषेकविक्रम शाहलाई कुटपिट गरेको आरोपमा उनी पक्राउ पनि परे।
तर, जिल्ला प्रशासन कार्यालयको आदेशविरुद्ध उनी अदालत गए। अदालतले नाम नमिलेको र उनी राजीव गुरुङ भएको भन्दै सफाइ दियो। २० दिन कारागार बसेका मनाङे छुटे।
नुवाकोटको गुप्तेश्वर गाउँपालिका १ का सुनबहादुर तामाङ पनि बाबुको नाम र ठेगाना फरक पर्दा छुटेका थिए। २०७५ सालमा उनलाई मानव बेचबिखनको आरोपमा पक्राउ गरिएको थियो।
अदालतमा उनले त्यो ठेगाना आफ्नो नभएको र बाबुको नाम पनि फरक परेको भनेपछि सर्वोच्चले छाड्न आदेश दियो। पछि सीआईबीले नाम ठेगाना सच्याएर फेरि मुद्दा लग्यो।
साभारः नेपालखबर डटकम