हेटौंडा आएर माधव नेपालले भने, ‘बागमतीमा नेकपा एसको नेतृत्वमा सरकार छिट्टै’
हेटौंडा । बागमती प्रदेश सरकारमा छिट्टै नेकपा एकीकृत समाजवादी पार्टीको नेतृत्वमा सरकार गठन हुने पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बताएका छन् ।
शनिवार हेटौंडामा भएको पार्टी जिल्ला घोषणा सभालाई सम्बोधन गर्दै नेकपा एसका अध्यक्ष नेपालले बागमती र १ नम्बर प्रदेशमा नेकपा एसको नेतृत्वमा सरकार बन्ने दावी गरेका हुन् ।
बागमतीमा हाल एमालेकी अष्टलक्ष्मी शाक्यको नेतृत्वमा सरकार छ । नेपालले एमाले अध्यक्ष ओलीलाई देशभरबाट आगामी निर्वाचनमा धुलो चटाउने चेतावनी दिएका छन् ।
एमाले आगामी चुनावमा कमजोर बन्ने माधव नेपालको दावी छ । एमाले र केपीशर्मा ओलीलाई आगामी निर्वाचनमा टर्च बालेर खोज्नुपर्ने नेपालको भनाई छ ।
‘केपी ओली अहंकारको घोडाबाट खसेपछि गालीगलौचमा लागेक छन् । उनीहरुको काम नै गाली गर्ने, त्यसैमा रमाउँछन् । हामी त्यस्तो गर्ने छैनौं । सद्बुद्धि आओस्, मति सुध्रियोस् । हामी गलत बाटोमा जान चाहन्नौँ । नत्र त उहाँहरु र हामीमा के फरक रह्यो र ।’
एकीकृत समाजवादीले युवा र महिलाहरुलाई नेतृत्वमा ल्याउने नेपालले बताए । नेपाल एमालेबाट विभाजित भएर नयाँ दल नेकपा एस गठन गरेपछि पहिलो पटक मकवानपुर आएका हुन् ।
उनले मकवानपुरमा नेकपा एसको पक्षमा नेता, कार्यकर्ताको उपस्थिति देखेर आफू खुशी भएको बताए । मकवानपुरमा नेकपा एसको सहभागिता देखेर केपी ओलीलाई हृद्यघात हुने भन्दै व्यङ्ग्य गरेका थिए ।
भेलालाई सम्बोधन गर्दै पार्टी स्थायी कमिटी सदस्य खतिवडाले ओलीका कारण कम्युनिष्ट आन्दोलन धरापमा परेको बताए । एकीकृत समाजवादी पार्टी देशकै पहिलो कम्युनिस्ट पार्टी हुने दाबी खतिवडाको छ ।
केपी शर्मा ओलीकै कारण एमाले फुटेको उनको भनाई छ । भेलाले पार्टी जिल्ला कमिटी, युवा संघ, अनेरास्ववियु र महिला संगठनको कमिटी घोषणा गर्दै शपथ ग्रहण गराइएको थियो ।