मकवानपुरको सबै पालिका पुग्यो भूमि समस्या समाधान आयोग

संवाददाता
बैशाख ५, २०८२

हेटौंडा । भूमि समस्या समाधान आयोग मकवानपुरले आफ्नो अभियानलाई निरन्तरता दिइने क्रममा जिल्लाको दशवटै स्थानीय तहमा पुगेको छ ।

बिहीवार मकवानपुरको भीमफेदी गाउँपालिकामा एकदिने अभिमूखीकरण तथा अन्तरक्रिया गरेसँगै दशवटै पालिकामा आयोगको अभियान पुगेको हो । यसअघि आयोगले हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, बागमती, राक्सिराङ, इन्द्रसरोबर, मनहरी, बकैया, कैलाश र मकवानपुरगढीमा अन्तरक्रिया सञ्चालन गरिसकेको छ ।

भीमफेदी गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा पालिका अध्यक्ष हिदम लामाको सभाध्यक्ष र भूमि समस्या समाधान आयोग मकवानपुरका अध्यक्ष बलराम बलको प्रमुख आथिथ्यता रहेको थियो ।

आयोग अध्यक्ष बलले गाउँपालिकाका भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई पहिलो प्राथमिकतामा राखेर पहिचान र प्रमाणिकरण भैसकेको फाइलहरु आयोगको कार्यालयमा पठाएको ४०÷५० दिनसम्ममा लालपूर्जा बितरण गर्ने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरे ।

गाउँपालिका अध्यक्ष लामाले भूमिहिन दलित र सुकुम्बासीको पहिचान र प्रमाणीकरण गरी ९ वटै वडाबाट प्राप्त फाइल कम्प्युटरमा प्रबिष्ष्ट गर्ने कार्य भइरहेको बताए ।

आयोग मकवानपुरका सदस्य कविन सांगामीका अनुसार भीमफेदीका नौ वटै वडाबाट प्रमाणिकरण गरिएका फाइलमा भूमिहीन दलित, सुकुम्बासी, र अव्यवस्थित गरी १२ सय परिवारको पहिचान भइसकेको छ ।

कार्यक्रममा स्वागत मन्तव्य भीमफेदीका उपाध्यक्ष सञ्जिव श्रेष्ठले गरेका थिए । आयोगकी महिला सदस्य डिलमाया घर्ती, आयोग विज्ञसदस्य अर्जुनप्रसाद चौलागाईं, मालपोत कार्यालय मकवानपुरका प्रमुख रघुवंश कँडेल, नापी कार्यालय मकवानपुरका प्रमुख खीमबहादुर राना, ९ वटै वडाका अध्यक्ष, पालिकामा क्रियाशील राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*