प्रतिष्ठानको बोर्ड तोडमोड आरोपमा पक्राउ परेका ६ जनाको रिहा

हेटौंडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालको बोर्ड तोडमोडको आरोपमा पकाउ परेका ६ जनालाई रिहाई गर्ने फैसला भएको छ ।
पक्राउ परेका ६ जनालाई रिहा गर्ने फैसला भएको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जानकारी दिइन । रिहा भएपछि उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बाहिर खादा र अबिर लगाएर स्वागत तथा सम्मान गरिएको थियो । ६ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिहीवार जिल्ला प्रशासन कार्यालयबाट अभद्र व्यवहारको मुद्दामा ५ दिनको म्याद थप गरेको थियो ।
पक्राउ पर्नेमा सुनिल गिरी, सफल अधिकारी, विशालराज महत, अस्मित अधिकारी, समुन्द्र दाहाल र राजकुमार घिमिरे थिए । उनीहरु नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीसँग आबद्ध युवा नेताहरु हुन् ।
उनीहरुको रिहाईको लागि हेटौंडा–२ स्थित जिल्ला प्रशासन कार्यालय मकवानपुर प्रवेश गर्ने खण्डमा शुक्रबार बिहान नाराबाजी भएको थियो । नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी सम्बद्ध नेता तथा कार्यकर्ताले नाराबाजी गरेका थिए ।
हेटौंडा अस्पतालको नाम हटाएर राजनीतिक पार्टीका नेताको नाम राखिएको भन्दै असन्तुष्ट युवाले ३० चैतमा प्रतिष्ठानको बोर्ड तोडमोड गरेका थिए । अस्पतालको छतमा चढेर उनीहरुले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाम स्प्रे प्रयोग गरेर मेटाउनुका साथै हेटौंडा अस्पतालको फ्लेक्स ब्यानर टाँगेका थिए ।
घटनापछि प्रतिष्ठानले प्रहरीमा निवेदन दिएपछि प्रहरीले उनीहरुको खोजी गरेको थियो । बिहीबार छलफलका लागि भन्दै जिल्ला प्रहरी कार्यालय बोलाएर उनीहरुलाई हिरासतमा लिएको हो ।