मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको बोर्ड तोडमोडको आरोपमा ६ जना नियन्त्रणमा

हेटौंडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालको बोर्ड तोडमोडको आरोपमा मकवानपुर प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा सुनिल गिरी, सफल अधिकारी, विशालराज महत, अस्मित अधिकारी, समुन्द्र दाहाल र राजकुमार घिमिरे छन् । उनीहरु नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीसँग आबद्ध रहेका युवा नेताहरु हुन् ।
हेटौंडा अस्पतालको नाम हटाएर राजनीतिक पार्टीका नेताको नाम राखिएको भन्दै असन्तुष्ट युवाले ३० चैतमा प्रतिष्ठानको बोर्ड तोडमोड गरेका थिए । अस्पतालको छतमा चढेर उनीहरुले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाम स्प्रे प्रयोग गरेर मेटाउनुका साथै हेटौंडा अस्पतालको फ्लेक्स ब्यानर टाँगेका थिए ।
घटनापछि प्रतिष्ठानले प्रहरीमा निवेदन दिएपछि प्रहरीले उनीहरुको खोजी गरेको थियो । बिहीबार छलफलका लागि भन्दै जिल्ला प्रहरी कार्यालय बोलाएर उनीहरुलाई हिरासतमा लिएको हो ।
६ युवा पक्राउ परेपछि समथर्क युवाहरुले पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको हेटौंडा उपमहानगरपालिका– १ मा पर्ने खण्डमा टायर बालेर केहीबेर प्रदर्शन गरे । प्रदर्शनको क्रममा उनीहरुले पूर्व–पश्चिम राजमार्गमा पर्ने मुख्य सडकखण्ड केहीबेर अवरुद्ध पारेका थिए ।