११ नम्बर वडाले गाईभैंसीका लागि म्याट खरिदमा अनुदान दिने

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–११ ले चालू आर्थिक वर्ष २०८१/८२ का लागि स्वीकृत कार्यक्रमअन्तर्गत गाईभैंसीका लागि म्याट खरिदमा अनुदान दिने कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
वडा कार्यालयको २०८१ चैत २९ गतेको निर्णय अनुसार यो कार्यक्रम सार्वजनिक संस्थाहरु, कृषक, कृषिफर्म, कृषक समूह, कृषि तथा बहुउद्देश्यीय सहकारी संस्थालाई लक्षित गरिएको छ । यस सम्बन्धमा सूचना पहिलोपटक २०८१ चैत ३१ गते प्रकाशित गरिएको हो ।
सूचनाअनुसार, सम्बन्धित आवेदकले १५ दिनभित्र (अर्थात २०८२ वैशाख १५ गतेसम्म) वडा कार्यालयमा आवश्यक कागजातसहित आवेदन दिनुपर्ने हेटौंडा–११ कि वडाअध्यक्ष जुना दाहालले आग्रह गरेकी छिन् ।
वडाभित्रका योग्य साझेदारहरुले गाईभैंसी पालनका लागि आवश्यक म्याट खरिद गर्दा लागतको ७० प्रतिशतसम्म अनुदान प्राप्त गर्न सक्नेछन् भने बाँकी ३० प्रतिशत रकम साझेदार आफैंले व्यहोर्नुपर्ने उनले जानकारी दिइन् । अनुदान प्राप्त गर्न चाहने इच्छुक किसानले नागरिकताको प्रमाणपत्र, संस्थागत हकमा दर्ता तथा नवीकरणका प्रमाणपत्र, कार्यक्रम प्रस्तावना, सम्बन्धित संस्थाको निर्णय र प्रतिवद्धतापत्रसहितको आवेदन पेश गर्नुपर्नेछ ।
वडा कार्यालयले दोहोरो अनुदान नलिएको र अनुदानको दुरुपयोग नगर्ने स्पष्ट शर्त राखेको छ । अन्य सरकारी निकायबाट सोही प्रकृतिको लागि अनुदान लिइसकेको पाइएमा वा दुरुपयोग भएको खण्डमा प्रचलित कानुनअनुसार कारवाही गरिने पनि जनाइएको छ ।
अनुदान कार्यक्रमले वडा नं. ११ भित्रको पशुपालन व्यवसायलाई थप व्यवस्थित र आधुनिक बनाउन सहयोग पुग्ने वडा कार्यालयको अपेक्षा छ ।