मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको बोर्डको नाम मेटाइएपछि आपत्ति, कारबाहीको माग

हेटौंडा । हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अलग गर्नुपर्ने माग राख्दै आन्दोलनरत हेटौंडाका केही युवाको समूहले अस्पतालको बोर्डबाट प्रतिष्ठानको नाम मेटाएका छन् ।
आइतबार दिउस प्रतिष्ठान परिषरमा पुगेर उनिहरुले प्रतिष्ठानको नाम मेटाएका हुन् । हेटौंडा अस्पताल बचाउ तथा सुधार अभियान समितिको नाउँबाट आन्दोलनरत समुहका युवाहरु पुगेर बोर्डबाट ‘मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान’ शब्द रङ दलेर मेटाउँदै उनीहरुले त्यस स्थानमा अर्को बोर्ड समेत राखेका छन् ।
हेटौंडामा रहेको एकमात्र सरकारी अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभ्न नहुने भन्दै उनिहरुले विभिन्न चरणमा आन्दोल गर्दै आएका छन् । बागमती प्रदेश सरकारले हेटौंडा अस्पताललाई प्रतिष्ठानमा गाभेर मेडिकल कलेजको रुपमा विस्तार गरेको छ ।
यसैबीच प्रतिष्ठानले विज्ञप्ति जारी गर्दै बोर्ड तोडफोडमा संलग्नलाई कारबाहीको माग गरेको छ । प्रतिष्ठानका निमित्त उपकुलपति डा दिनेशकुमार लम्साल र रजिस्ट्रार भिमसागर गुरागाईँले हस्ताक्षर गरेको विज्ञप्तिमा अवाञ्छित र आपत्तिजनक गतिविधिको घोर भत्र्सना गर्दै अस्पतालको बोर्डमा गरिएको तोडफोड कानुन विपरीत भएको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘२०७६ साल आश्विन २ गते बागमती प्रदेश सरकारले स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत हेटौँडा अस्पताल सञ्चालनमा रहेको छ । अध्ययन, अध्यापन र अनुसन्धानलाई प्रवद्र्धन गर्दै अन्तर्राष्ट्रिय मान्यता प्राप्त दक्ष जनशक्ति उत्पादन गर्ने तथा सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा दिने प्रतिष्ठानको उद्देश्य रहेको छ ।’
प्रतिष्ठानका अनुसार हाल १०० भन्दा बढी विशेषज्ञ चिकित्सकहरूबाट दैनिक १ हजार ५०० भन्दा बढी बिरामीलाई सेवा प्रवाह भइरहेको छ ।
‘स्वास्थ्य सेवा एक अत्यावश्यक सेवा हो । यस्ता गैरकानुनी कार्यले उपचाररत बिरामीहरू, स्वास्थ्यकर्मी तथा सेवाग्राहीहरूमा त्रास, अन्योल र असुरक्षा उत्पन्न भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘उक्त घटनाका दोषीहरूलाई तुरुन्त छानबिन गरी कानुनी दायरामा ल्याउन सम्बन्धित निकायलाई आग्रह गर्दछौं ।’