संघीयताको उपहारः मनहरीमा बन्यो पाँचवटा पक्की पुल

हेटौंडा । संघीयता लागु भएपछि स्थानीय तह आफैँले विकास निर्माणका काम अघि बढाउन सक्छन् भन्ने प्रमाण मकवानपुरको एक स्थानीय तहले पुष्टि गरिदिएको छ । यहाँस्थित मनहरी गाउँपालिकाले सङ्घीय र प्रदेश सरकारको लगानीबिनै पाँच वटा पक्की पुल निर्माण गरेर स्थानीयको मन जितेको हो ।
अघिल्लो सरकारकै पालामा सुरु भएका पाँच वटा पक्की पुलमध्ये गत आर्थिक वर्षमा तीन वटा र यस आवमा एउटा पुल निर्माण सम्पन्न भएको छ । एउटा पुल आगामी वैशाख मसान्तसम्ममा निर्माण सम्पन्न हुने गरी काम अघि बढिरहेको मनहरी गाउँपालिकाको भौतिक पूर्वाधार शाखाले जानकारी दिएको छ ।
गत आवमा मनहरी गाउँपालिका–३ र ४ जोड्ने ट्वाङ्ग्राखोला पुल र मसिनेखोला पुल निर्माण सम्पन्न भएको थियो । त्यसै गरी वडा नं. १ र २ जोड्ने च्यापलखोला पुल पनि गत आवमै निर्माण सम्पन्न भइसकेको छ ।
चालु आव २०८१÷८२ को कात्तिक मसान्तमै वडा नं. ३ स्थित ठाडोखोला पुल निर्माण भइसकेको मनहरी गाउँपालिका प्राविधिक शाखाका सबइन्जिनियर टुकराज चौधरीले जानकारी दिए । उनका अनुसार वडा नं. ३ मै रहेको हाँडीखोलामा निर्माणाधीन पुल पनि आगामी २०८२ वैशाख मसान्तसम्ममा सम्पन्न हुने गरी धमाधम काम भइरहेको छ ।
गाउँपालिकाले दिएको जानकारी अनुसार हाल निर्माणाधीन हाँडीखोला पुलको लम्बाइ ३५ मिटर र एक स्पानको रहेको छ । कुल पाँच करोड ३५ लाख ५१ हजार ५२५ रुपैयाँ लागतमा भैरवनारायण ज्ञानेश जेभी निर्माण कम्पनीले पुल निर्माणको काम गरिरहेको छ ।
चालु आर्थिक वर्षको कात्तिक मसान्तमा सम्पन्न भएको वडा नं. ३ को ठाडोखोलाको पक्की पुल तीन स्पान रहेको र ९० मिटर लामो रहेको छ । यसैगरी अघिल्लो आवमा निर्माण भएका मनहरी–३ र ४ जोड्ने मसिने खोला पुल दुई स्पानको ७० मिटर लामो रहेको छ भने सोही वडा जोड्ने ट्वाङ्ग्राखोला पुल दुई स्पानको ६० मिटर रहेको गाउँपालिकाले जनाएको छ ।
वडा नं. १ र २ जोड्ने च्यापलखोलामा बनेको पुल तीन स्पानमा ९० मिटर लामो रहेको सबइन्जिनियर चौधरीले जानकारी दिए ।
गाउँपालिकाले आफ्नै आन्तरिक स्रोत प्रयोग गरी पुल निर्माण गरेको हो । स्थानीय सरकारको अघिल्लो नेतृत्वले सुरु गरेका पाँच वटा पक्की पुल निर्माण हुँदा ३४ करोड रुपियाँ लगानी रहेको छ । आव २०७७र७८ बाट पुल निर्माण प्रव्रिmया सुरु गरिएको थियो । चार वर्षको अवधिमा सबै पक्की पुल निर्माण गरी गाउँपालिकालाई बलियो भौतिक संरचनायुक्त बनाइएको अध्यक्ष रञ्जन कालाखेतीले बताए ।
‘संघीयताका कारण घरघरै सिंहदरबार आउँछ भन्ने भाष्यलाई हामीले कामबाटै पुष्टि गरेका छौँ ।’ अध्यक्ष कालाखेतीले भने । पुल निर्माणपछि आवागमन सहज हुनुका साथै किसानले उत्पादन गरेका तरकारी बाह्य बजारमा लैजान सजिलो भएको पशुपति माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव गौतमले बताउ । (गोरखापत्रबाट)