मानव सेवा आश्रमको महायज्ञमा ४ करोड रकम संकलन

हेटौंडा । मानव सेवा आश्रम हेटौंडाले आयोजना गरेको महायज्ञमा ४ करोड रुपैयाँभन्दा बढी रकम संकलन भएको छ ।
हेटौंडा उपमहानगरपालिका–९ लामसुरेधापमा चैत १७ देखि २४ गतेसम्म आयोजित महायज्ञमा ४ करोड ८ लाख ९५ हजार ५ सय ८७ रुपैयाँ रकम संकलन भएको महायज्ञ मूल आयोजक समितिका कोषाध्यक्ष तारा लामिछानेले पत्रकार सम्मेलनमा जानकारी दिए ।
महायज्ञमा नगद, चेक र क्यूआरुबाट एक करोड १७ लाख ८१ हजार ३ सय ४८ रुपैयाँ संकलन भएको लामिछानेले बताए । सरकारी निकाय, पालिका, संघसंस्था र व्यक्तिबाट २ करोड ८७ लाख ८१ हजार ३ सय ४८ रुपैयाँ प्रतिबद्धता आएको उनको भनाइ छ ।
हेटौंडा उपमहानगरपालिकाले एक करोड ५० लाख उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ । त्यसैगरी उपमहानगरका वडा कार्यालय र गाउँपालिकाहरुले ३ लाखदेखि १० रुपैयाँसम्म उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।
महायज्ञमा धान, चामल अन्य खाद्यान्न लगायत जिन्सी ३ लाख ३१ हजार ६ सय ६१ रुपैया बराबरको सहयोग जुटेको आयोजक समितिले जनाएको छ ।
मानव सेवा आश्रम मुख्य कार्यालय हेटौंडाको क्षमता अभिवृद्धि, अक्षयकोष स्थापना र मानवता प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले आश्रमको परिसरमा महायज्ञको आयोजना गरिएको थियो । संकलित रकमले आश्रममा आवश्यक भौतिक पूर्वाधार निर्माण गर्ने र अक्षयकोष स्थापना गर्ने उद्देश्य छ ।
मानव सेवा आश्रममा २ सय ४० जनाले आश्रय लिएर बसेका छन् । तीमध्ये अधिकांश मानसिक सन्तुलन गुमाएका छन् । आश्रममा रहेकाको स्वास्थ्य उपचार, सरसफाइ र खानपान गर्न मासिक करिब २५ लाख रुपैयाँ खर्च हुने गरेको छ ।
आश्रमले सडकमा कष्टकर जीवन बिताइरहेकाहरुलाई २०६९ भदौ १३ बाट उद्दार गरेर मानवीय सेवा सुरु गरेको थियो । सडकबाट उद्दार गरेर ल्याएकामध्ये ९ सय २६ वृद्धवृद्धालाई परिवारमा नै पुनस्थापना गरिसकेको आश्रमका अध्यक्ष रामजी अधिकारीले बताए ।
आश्रमको मुख्य कार्यालय मकवानपुरले हालसम्म १४ सय २ जनाको उद्धार गरिसकेको छ । उपचारपश्चात् स्वेच्छाले ५ सय ३६ जना घर फर्किएका छन् । १ सय ८० जनाको आश्रमै निधन भएको छ ।
आश्रमको आफ्नै भवन छ । आश्रम अहिले ७ वटा प्रदेशका १७ जिल्लाको २६ स्थानमा विस्तार भइसकेको । २६ स्थानका आश्रममा एक हजार ७ सय ६१ जना आश्रित छन् । (इकान्तिपुरबाट)