बागमतीमा बढ्यो वन डढेंलोको घटना, चेतनाको कमी देखिएकोमा मन्त्रीको चिन्ता

हेटौंडा – हावाहुरीको मौसम सुरु भएसँगै बागमती प्रदेशका विभिन्न स्थानमा डढेलो लाग्ने क्रम बढेको छ । डढेलो नियन्त्रणका विभिन्न प्रयास भएपनि वनमा आगलागी भने रोकिएको छैन ।
बागमती प्रदेशको विभिन्न जिल्लामा डढेलोका कारण चिरान काठसहित खानेपानी पाइपदेखि धेरै सम्पत्तिको क्षति, जंगली जनावरको पनि आगलागीका कारण मृत्यु भएको छ । यो वर्ष पनि बागमती प्रदेशका ४ जिल्लाको २६ सय ३० दशमलव ९५ प्रतिशत हेक्टर क्षेत्रफलको वनमा डढेलो लागिसकेको छ । प्रदेशको मकवानपुर, नुवाकोट, दोलखा र रसुवाको वनमा डढेलो लागेको वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी सञ्जिव सुवेदीले जानकारी दिए ।
उनले अन्य जिल्लाको वनमा पनि डढेलो लागेको हुनसक्ने भएपनि हालसम्म आफूहरुले त्यसको विवरण नपाएको बताए । सुवेदीका अनुसार यो चैत महिनामा मात्रै मकवानपुरको २५ सय ३६ हेक्टर, नुवाकोटको ८७ दशमलव ३ हेक्टर, दोलखाको २३ दशमलव ५५ हेक्टर र रसुवा जिल्लाको ८४ दशमलव १ प्रतिशत हेक्टर वनमा डढेलो लागेको छ ।
प्रदेशका १३ वटै जिल्लासँग वन डढेलोको विवरण पठाउन माग गरेको भए पनि हालसम्म ४ वटा जिल्लाले मात्रै विवरण पठाएको भन्दै वन डढेलो लागेको वनको क्षेत्रफल बढ्न सक्ने सूचना अधिकारी सुवेदीले बताए ।
उनले भने, ‘हामीले प्रदेशका १३ वटै जिल्लालाई वनमा लागेको डढेलोको रिपोर्ट पठाउन भनेका छौं तर, हालसम्म ४ वटा जिल्लाले मात्रै पठाएकाले २६ सय ३० दशमलव ९५ प्रतिशत हेक्टरमा वन डढेलो लाग्यो भनिएको हो । यो संख्या बढ्न पनि सक्छ ।’ सुवेदीका अनुसार डढेलोका कारण मकवानपुरमा एकजनाको मृत्यु भएको छ भने ३ सय ८९ रुख जलेर नष्ट भएको छ । दोलखामा ३ बंगुर जलेर क्षति भएको छ ।
मकवानपुरमा मात्रै ४ हजार ३ सय ५० खम्बा, ४० हजार २ सय ५८ लाथ्रा र ४ लाख ३१ हजार २९ बिरुवा नष्ट भएको छ । दोलखामा ६ हजार २६ लाथ्रा ७ हजार ७ सय ५० विरुवा नष्ट भएको भने नुवाकोटमा एक सय खम्बा, ५ हजार ८ सय ५० लाथ्रा र १७ हजार १ सय ५० विरुवा नष्ट भएको छ ।
बागमती प्रदेशको कुल क्षेत्रफलको ५९ दशमलब २७ प्रतिशत अर्थात् १२ लाख ४३ हजार ८४४ हेक्टर जमिन वन क्षेत्रले ओगटेको छ । राष्ट्रिय निकुञ्ज समेत रहेको बागमती प्रदेशका यी वन जंगलमा लोपोन्मुख जंगली जनावर पनि रहने गर्दछन् । हालसम्म मन्त्रालयले डढेलो नियन्त्रणका लागि प्रदेशका केही जिल्लालाई ह्याण्डपम्प लगायतको उपकरण वितरण छ ।
डढेलो लगाउने पक्राउ नपर्दा र कारबाही हुन नसक्दा पनि यसलाई नियन्त्रण र रोकथाम गर्न नसकिएको उनले बताए । डढेलो लगाउनेलाई ६० हजार जरिवाना, तीनवर्ष जेल सजाय वा दुवै हुनसक्ने कानुनी प्रावधान छ ।
नागरिकमा जनचेतनाको कमी देखियोः मन्त्री सिलवाल
वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले नागरिकमा जनचेतनामा कमी हुँदा डढेलो बढेको बताए । ‘मानव र वन्यजन्तुबीचको द्वन्द्व अलि बढी नै भएको छ’ मन्त्री सिलवालले भने, ‘त्यसबाट छुटकारा पाउन जंगलमा आगो लगाइदिनेगरेको पाइन्छ ।’
मन्त्री सिलवालले घाँसदाउरा गर्नेले डढेलो लगाइसके पछि राम्रो घाँस पलाउँछ र दाउरा काट्न सजिलो हुन्छ‚ चौपाया चराउन पाइन्छ भन्ने मानसिकता भएका मानिसको कारणले वनमा डढेलो लाग्ने गरेको बताए । मन्त्री सिलवालले डढेलो नियन्त्रणमा डिभिजन वनलाई नै जिम्मा दिएको बताउँदै वन डढेलो नियन्त्रण गर्न मन्त्रालयले फागुनदेखि ४ महिना वन हेरालु नियुक्तिका लागि बजेटको व्यवस्था गर्नुका साथै डढेलो नियन्त्रणको प्रयासमा अघि बढेको जानकारी दिए ।
वन व्यवस्थापनको हिसाबले प्रदेशमा चार हजार ५०३ वटा सामुदायिक वन, तीन हजार ३३७ वटा कबुलियती वन, ३९ वटा धार्मिक वन, २ वटा संरक्षित वन र ५७९ वटा निजी वन रहेको छ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार बागमती प्रदेशमा कुल क्षेत्रफलको ५१ दशमलव ५३ प्रतिशत वन र २ दशमलव २० प्रतिशत अन्य काष्ठ तथा बुट्यान क्षेत्रगरी ५३ दशमलव ७३ प्रतिशत वनक्षेत्र रहेको छ । प्रदेशका १३ जिल्लामध्ये मकवानपुरमा सबैभन्दा बढी ६८ दशमलव १५ प्रतिशत र भक्तपुरमा सबैभन्दा कम २० दशमलव १० प्रतिशत वन क्षेत्र छ ।
बागमती प्रदेशअन्तर्गत चितवन, राप्ती, मकवानपुर, मरिण, सिन्धुली, रामेछाप, सिन्धुपाल्चोक, दोलखा, काभ्रे, काठमाडौँ, भक्तपुर, ललितपुर, रसुवा, नुवाकोट र धादिङडिभिजन वन कार्यालय छ । वन निर्देशनालय हेटौंडा मातहत १५ वटा डिभिजन वन कार्यालय र ७ वटा भू–तथा जलाधार व्यवस्थापन कार्यालय छ ।