मकवानपुरको १० पालिकामा १ अर्ब २३ करोड राजश्व बाँडफाँड अनुदान

संवाददाता
चैत्र २६, २०८१

हेटौंडा । मकवानपुरका १० पालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि संघीय सरकार मार्फत् १ अर्ब २३ करोड २२ लाख रुपैयाँ राजश्व बाँडफाँडबाट अनुदान पाउने भएका हुन् ।

चैत १८ गते बसेको मन्त्रिपरिषद् बैठकले २०८२/८३ देखि २०८६/८७ सम्मका लागि प्रदेश तथा स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँडको विस्तृत आधार र ढाँचा स्वीकृत गरेको हो । मकवानपुरको १० पालिका मध्ये सबैभन्दा बढी हेटौंडा उपमहानगरले २२ करोड ८५ लाख र सबैभन्दा कम ईन्द्रसरोवर गाउँपालिकाले ६ करोड ७५ लाख पाउने भएको छ ।

थाहा नगरपालिकाले १० करोड ७० लाख, कैलाश गाउँपालिकाले ९करोड ६७ लाख, राक्सिराङ गाउँपालिकाले १० करोड ६१ लाख, मनहरी गाउँपालिकाले १३ करोड ७६ लाख रुपैयाँ पाउने जानकारी दिए ।

भीमफेदी गाउँपालिकाले ९ करोड ८९ लाख, बकैया गाउँपालिकाले १५ करोड ५५ लाख र बागमती गाउँपालिकाले राजश्व बाँडफाँडमार्फत् १४ करोड ६ लाख रुपैयाँ बजेट पाउने भएका छन् ।

मकवानपुरगढी गाउँपालिकाले ९ करोड ३८ लाख रुपैयाँ पाउने भएको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले उल्लेख गरेको छ । आगामी आर्थिक वर्षमा प्रदेश र स्थानीय तह दुवैमा समान ७८ अर्ब ८ करोड ५० लाख रुपैयाँ बाँडफाँट हुनेछ । जुन १ खर्ब ५६ अर्ब रुपैयाँ हुन आउँछ ।

संघीय सरकारले उठाउने राजस्वमध्ये आन्तरिक उत्पादनमा लाग्ने मूल्यअभिवृद्धि कर (भ्याट) र अन्तःशुल्कबाट उठेको रकम बाँडफाँट गरिन्छ । यसको ७० प्रतिशत हिस्सा संघले राख्छ । बाँकी ३० प्रतिशत भने प्रदेश र स्थानीय तहमा १५÷१५ प्रतिशतका दरले बाँडफाँट गरिन्छ । सवारीसाधन कर प्रदेशले उठाउने गर्छ ।

समानिकरण अनुदान २ वटा स्थानीय तहको घट्यो

आगामी आर्थिक वर्ष २०८२/८३ मा मकवानपुरका १० स्थानीय तहले १ अर्ब २७ करोड ११ लाख रुपैयाँ वित्तीय समानीकरण अनुदान पाउने भएको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले २८ फागुनमा नेपाल सरकारलाई गरिएको सिफारिस अनुसार दशमध्ये दुईवटा स्थानीय तहको समानीकरण अनुदान चालु आर्थिक वर्षको तुलनामा आगामि आर्थिक वर्षका लागि घट्ने भएको छ ।

चालु आर्थिक वर्षमा ७ करोड २६ लाख समानीकरण अनुदान पाएको ईन्द्रसरोवर गाउँपालिकाले १५ लाख घटेर आगामी आर्थिक वर्ष ७ करोड ११ लाख रुपैयाँ पाउने भएको छ ।

त्यसैगरी चालु आर्थिक वर्षमा २९ करोड ९८ लाख समानीकरण अनुदान पाएको हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षमा २९ करोड ७६ लाख पाउने भएको छ । अन्य ८ वटा पालिकाको समानीकरण अनुदान भने बढेको छ ।

मकवानपुरगढीले भने यसवर्षको भन्दा २५ लाख रुपैयाँ बढी रकम पाउने भएको छ । आगामी आर्थिक वर्षमा मकवानपुरगढीले १० करोड ७ लाख रुपैयाँ पाउनेछ ।

थाहा नगरपालिकाले १२ करोड ३९ लाख, भीमफेदीले १० करोड ५२ लाख, बकैयाले चालु आर्थिक वर्षको अनुदान भन्दा १ करोड ४ लाख थप्दै १२ करोड ९५ लाख, बागमतीले ११ करोड ७० लाख, मनहरीले १२ करोड ५३ लाख, कैलाश गाउँपालिकाले ९ करोड ८३ लाख र राक्सिराङले १० करोड २५ लाख अनुदान पाउने आयोगको सिफारिसमा उल्लेख गरिएको छ ।

यसैगरी, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय तहको पनि कार्यसम्पादक मूल्यांकन गरेकोमा मकवानपुर जिल्लामा मकवानपुरगढीले तेस्रो स्थान लिएको छ । मकवानपुरगढी गाउँपालिकाले ६७ अंक ल्याएर जिल्लाका १० वटा पालिकामध्ये तेस्रो स्थान पाएको हो ।

५ वटा पालिकाको समपुरक बजेट बढ्ने

बागमती प्रदेश सरकारले समपुरक अनुदानको लागि स्थानीय सरकारलाई ७ वर्गमा वर्गीकरण गरेको छ । प्रदेश सरकारले जारी गरेको प्रदेश समपुरक अनुदान सम्बन्धी कार्यविधि २०८१ म स्थानीय सरकारलाई वर्गीकरण गरेको हो ।

पालिकालाई ७ वर्गमा वर्गीकरण गरी त्यसैको आधारमा२० देखि ८० प्रतिशतसम्म प्रदेशबाट समपुरक अनुदान वितरण गरिने आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।

वर्गीकरण अनुसार मकवानपुरको १० स्थानीय तहमध्ये ५ वटा पालिकाको समपुरक बजेट बढ्ने, ३ वटा पालिकाको घट्ने र २ वटा पालिकाको साविककै रहने उल्लेख गरिएको छ । नयाँ कार्यविधि अनुसार कैलाश र राक्सीराङ गाउँपालिका ‘ख’ वर्गमा परेको छ ।

ती दुईपालिकाले प्रदेश सरकारबाट ७० प्रतिशत समपुरक अनुदान पाउने छन् । ईन्द्रशरोबर, भीमफेदी र बागमती गाउँपालिका ‘ग’ वर्गमा परेको छ । यि पालिकाले प्रदेश सरकारबाट ६० प्रतिशत समपुरक अनुदान पाउने छन् ।

यस्तै ‘घ’ वर्गमा परेको बकैया र मकवानपुरगढी गाउँपालिकाले साविकको झै प्रदेश सरकारबाट ५० प्रतिशत अनुदान पाउने भएका छन् ।त्यस्तै, नयाँ कार्यविधि अनुसार ‘ङ’ वर्गमा परेको मनहरी र थाहाले ४० प्रतिशत अनुदान पाउने छन् ।

हेटौंडा उपमहानगरपालिका भने ‘छ’ वर्गमा परेको छ । हेटौंडाले प्रदेश सरकारबाट स्वीकृत समपुरक अनुदानबाट सञ्चालन हुने आयोजनाको लागि २० प्रतिशत पाउने अनुदान पाउने नयाँ कार्यविधिमा उल्लेख गरिएको छ ।

तपाईको मत दिनुहोस्

  • प्रतिक्रियाहरु
  • प्रतिक्रियाहरु (0)