एक सय गृहिणी महिलालाई स्वरोजगार बनाउँदै मकवानपुरगढी

हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले एक सय गृहिणी महिलालाई स्वरोजगार बनाउँन सीपमूलक तालिम दिने भएको छ ।
पालिकाकाले एक सुचना जारी गर्दै चार वटा शिर्षकमा एक सय गृहिणी महिलालाई तालिमका लागि आवेदन आवाह्न गरेको हो । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको आर्थिक बर्ष २०८१/०८२ को स्वीकृत गृहिणी महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत पालिकाले वडा नम्बर १, २, ६, ७ र ८ मा तालिम सञ्चालन गर्न लागेको हो ।
३ महिने अर्थात ३९० घण्टा अवधिको ब्यूटिसियन तालिम पालिकाभरीका २० जना, मौरीपालन (७ दिने) वडा नम्बर ६ र ८ मा ४० जना, झोला बनाउने १ सय ६० घण्टे वडा नम्बर १ का २० जना र गलैचा बनाउने १ सय ६० घण्टे वडा नम्बर २ र ७ का २० जनाको लागि तालिम संचालन हुने पालिकाले जनाएको छ ।
तालिमको लागि २० बर्ष पूरा भई ५५ बर्ष ननाघेका दलित, सिमान्तकृत, गोपन्मुख, अल्पसंख्यक तथा एक महिला, द्वन्दपीडित, अपाङ्गता भएका र आर्थिक रुपमा विपन्न महिलाले सुचना प्रकाशित मिति चैत १५ को १५ दिनभित्र आवेदन दिन सकिने सुचनामा उल्लेख छ ।
आवेदन दिन नागरीकताको प्रतिलिपी अर्थात पहिचान खुल्ने कागजपत्र, वडास्तरीय सहभागी छनोट समितिको सहभागी छनौट निर्णय र वडा कार्यालयको सिफारिस अनिवार्य रहेको पालिकाले जनाएको छ ।