मकवानपुरगढीले राजश्व बाँडफाँडबाट ९ करोड पाउने, समानिकरणमा २५ लाख बढ्यो

हेटौंडा । मकवानपुरगढी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि राजस्व बाँडफाँट माध्यमबाट ९ करोड रुपैयाँ भन्दा बढी रकम पाउने भएको छ ।
राजस्व बाँडफाँट माध्यमबाट प्रदेश र स्थानीय तहलाई उपलब्ध गराउने बजेट संघीय सरकारको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएसँगै मकवानपुरगढीले ९ करोड ३८ लाख रुपैयाँ पाउन भएको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले उल्लेख गरेको छ ।
यसअघि पनि मकवानपुरगढीले ९ करो हाराहारीमै बजेट पाउने गरेको थियो । तर मकवानपुरगढी भन्दा कम अनुदान पाउने पालिकाहरुले आगामी वर्षबाट बढी रकम पाउने भएसँगै मकवानपुरको भने अनुदान यथावत रहन पुगेको योजना शाखा प्रमुख प्रकाश न्यौपानेले जानकारी दिए ।
१८ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले २०८२/८३ देखि २०८६/८७ सम्मका लागि प्रदेश तथा स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँटको विस्तृत आधार र ढाँचा स्वीकृत गरेको हो । सरकारले गरेको निर्णय अनुसार मकवानपुरका १० पालिकाले आगामी आर्थिक वर्ष संघीय सरकारमार्फत १ अर्ब २३ करोड २२ लाख रुपियाँ राजश्व बाँडफाँठबाट अनुदान पाउने भएका हुन् ।
जिल्लाको १० पालिका मध्ये सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिकाले २२ करोड ८५ लाख र सबैभन्दा कम इन्द्रसरोवर गाउँपालिकाले ६ करोड ७५ लाख पाउने भएको छ ।
थाहा नगरपालिकाले १० करोड ७० लाख, कैलाश गाउँपालिकाले ९ करोड ६७ लाख, राक्सिराङ गाउँपालिकाले १० करोड ६१ लाख, मनहरी गाउँपालिकाले १३ करोड ७६ लाख रुपियाँ पाउने भएका छन् । भिमफेदी गाउँपालिकाले ९ करोड ८९ लाख, बकैया गाउँपालिकाले १५ करोड ५५ लाख र बागमती गाउँपालिकाले राजश्व बाँडफाँड मार्फत १४ करोड ६ लाख रुपैया बजेट पाउने भएका छन् ।
आगामी आर्थिक वर्षमा प्रदेश र स्थानीय तह दुवैमा समान ७८ अर्ब ८ करोड ५० लाख रुपैयाँ बाँडफाँट हुनेछ । जुन १ खर्ब ५६ अर्ब रुपैयाँ हुन आउँछ । संघीय सरकारले उठाउने राजस्वमध्ये आन्तरिक उत्पादनमा लाग्ने मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तःशुल्कबाट उठेको रकम बाँडफाँट गरिन्छ । यसको ७० प्रतिशत हिस्सा संघले राख्छ । बाँकी ३० प्रतिशत भने प्रदेश र स्थानीय तहमा १५/१५ प्रतिशतका दरले बाँडफाँट गरिन्छ । उता, सवारीसाधन कर प्रदेशले उठाउने गर्छ ।
समानिकरण अनुदान २५ लाख बढ्यो
आगामी आर्थिक वर्ष २०८२/०८३ मा मकवानपुरगढीले वित्तिय समानिकरण अनुदानमा यसवर्षको भन्दा २५ लाख रुपैयाँ बढी रकम पाउने भएको छ ।
मकवानपुरका १० स्थानीय तहले १ अर्ब २७ करोड ११ लाख रुपियाँ वित्तीय समानीकरण अनुदान पाउँदा मकवानपुरले २५ लाख बढी पाउने भएको हो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले २८ फागुनमा नेपाल सरकारलाई गरिएको सिफारिस अनुसार आगामि आर्थिक वर्ष २०८२/०८३ मा मकवानपुरगढीले १० करोड ७ लाख रुपियाँ पाउनेछ । यो चालु आर्थिक वर्षको भन्दा २५ लाख बढि अनुदान रकम हो । चालू वर्षमा मकवानपुरगढीले ९ करोड ८२ लाख रुपैयाँ पाएको थियो ।
वित्त आयोगका अनुसार मकवानपुरका दशमध्ये दुई वटा स्थानीय तहको समानीकरण अनुदान चालु आर्थिक वर्षको तुलनामा आगामि आर्थिक वर्षका लागि घट्ने भएको छ । चालु आर्थिक वर्षमा ७ करोड २६ लाख समानीकरण अनुदान पाएको इन्द्रसरोवर गाउँपालिकाले १५ लाख घटेर आगामी आर्थिक वर्ष ७ करोड ११ लाख रुपैयाँ पाउने भएको छ ।
चालु आर्थिक वर्षमा २९ करोड ९८ लाख समानीकरण अनुदान पाएको हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षमा २९ करोड ७६ लाख पाउने भएको छ । अन्य ८ वटा पालिकाको समानीकरण अनुदान भने बढेको छ ।
थाहा नगरपालिकाले १२ करोड ३९ लाख, भीमफेदीले १० करोड ५२ लाख, बकैयाले चालु आर्थिक वर्षको अनुदान भन्दा १ करोड ४ लाख थप्दै १२ करोड ९५ लाख, बागमतीले ११ करोड ७० लाख, मनहरीले १२ करोड ५३ लाख, कैलाश गाउँपालिकाले ९ करोड ८३ लाख र राक्सिराङले १० करोड २५ लाख अनुदान पाउने आयोगको सिफारिसमा उल्लेख गरिएको छ ।
यसैगरी, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय तहहरुको पनि कार्यसम्पादक मूल्यांकन गरेकोमा मकवानपुर जिल्लामा मकवानपुरगढीले तेस्रो स्थान लिएको छ । मकवानपुरगढी गाउँपालिकाले ६७ अंक ल्याएर जिल्लाका १० वटा पालिकामध्ये तेस्रो स्थान पाएको हो ।