फाष्ट ट्रयाकको भौतिक प्रगति अझै ४० प्रतिशत भन्दा मुनि

संवाददाता
चैत्र २४, २०८१

काठमाडौं । काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फाष्ट ट्रयाक) सडक आयोजना सम्पन्न गर्नुपर्ने गरी तोकिएको मिति नजिकिँदै जाँदा प्रगतिले भने गति लिन सकेको छैन ।

आयोजनाका अनुसार फागुन मसान्तसम्म आयोजनाको भौतिक प्रगति ३८ दशमलव ८० प्रतिशतमात्र छ । वित्तीय प्रगति ४० दशमलव २४ प्रतिशत छ । चालु आर्थिक वर्ष २०८१/८२ मा आयोजनाका लागि २२ अर्ब ५४ करोड ९३ लाख बजेट विनियोजन गरिएको छ ।

यसमध्ये फागुनसम्म ६ अर्ब ५७ करोड खर्च भइसकेको छ । अघिल्लो आव २०८०/८१ सम्म भौतिक प्रगति ३५ दशमलव ३८ प्रतिशत थियो । चालु आव ८ महिनामा भौतिक प्रगति ३ दशमलव ४२ प्रतिशत बिन्दुमात्र बढेको देखिएको छ ।

गत आव द्रुतमार्गमा १७ अर्ब ९८ करोड ३८ लाख विनियोजन भएकोमा १७ अर्ब ८६ करोड ९६ लाख बराबर खर्च भएको थियो । २०८०/८१ सम्म द्रुतमार्गको कुल वित्तीय खर्च भने ६७ अर्ब ९ करोड छ । यो नेपाली सेनाले निर्माणको जिम्मा लिएयताको खर्च हो ।

आयोजनामा अहिले प्याकेज नम्बर १ देखि १० सम्म विभिन्न निर्माणको काम जारी छ । यो आयोजना कुल ७० दशमलव ९८ किलोमिटर लम्बाइको हो । जसमध्ये १० दशमलव ९९ किलोमिटरमा सुरुङ रहेको छ । यो कुल लम्बाइको १५ दशमलव ४८ प्रतिशत हो ।

सुरुङतर्फको भौतिक प्रगति ६१ दशमलव ११ प्रतिशत छ । आयोजनामा कुल १२ दशमलव ८८ किलोमिटर अर्थात् १८ दशमलव १५ प्रतिशत पुलको हिस्सा रहने छ । ८९ स्थानमा पुल निर्माण गरिँदैछ ।

सडकतर्फ प्यासेन्जर अन्डरपास १, भेइकल अन्डरपास २२ र बक्स कल्भर्ट निर्माण २६ वटा सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । आयोजनाको सुरुवाती बिन्दु खोकना तथा ललितपुर जिल्लाको बुङमति र फर्सिडोल क्षेत्रमा जग्गाको मुआब्जा वितरण हुन अझै बाँकी छ ।

सोही कारण प्याकेज नम्बर ११ को खरिद प्रक्रिया ढिला भएको आयोजनाको भनाइ छ । सम्झौता अनुसार आयोजनाको म्याद चैत २०८३ छ । (समाचार स्रोतः onlinekhabar)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*