हेटौंडा उपमहानगरपालिकाको बजेट खर्च कमजोर

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको बजेट खर्च दर सुस्त देखिएको छ । उपमहानगरपालिकाले चालू आर्थिक वर्ष ०८१र८२ को आठ महिनामा ३३ दशमलव ६५ मात्र प्रतिशत बजेट खर्च गरेको हो ।
संशोधनसहितको कुल २ अर्ब ७२ करोड रुपैयाँको बजेट पारित गरेको उपमहानगरले हालसम्म ८५ करोड २ लाख ६७ हजार ७७७ रुपैयाँमात्र खर्च भएको छ ।
उपमहानगरको पुँजीगत खर्चभन्दा चालू खर्च अत्यधिक देखिएको छ । आठ महिनामा चालू खर्चतर्फ ७० करोड १२ लाख ५४ हजार १४८ रुपैयाँ अर्थात ४१ दशमलव ८१ प्रतिशत खर्च भएको छ । तर, पुँजीगततर्फ खर्च निकै न्यून १४ करोड ५० लाख ३९ हजार ९२२ रुपैयाँ अर्थात १७।२८ प्रतिशत मात्र खर्च भएको छ ।
वित्तीय व्यवस्थापनतर्फ भने ३९ लाख ७३ हजार ७०६ रुपैयाँ अर्थात ३९ दशमलव ७४ प्रतिशत खर्च भएको उपमहानगरपालिकाका सूचना अधिकारी भानुभक्त थपलियाले जानकारी दिए ।
उपमहानगरपालिकाले विभिन्न श्रोतबाट राजस्व संकलन गरेको छ । प्रशासनिक दण्ड, जरिवाना र जफतबाट २० लाख रुपैयाँ, धरौटीबाट २० हजार, अन्य राजस्व स्रोतबाट २ लाख ५० हजार, तथा १ करोड ६३ लाख ९९ हजार ३ सय रुपैयाँ राजस्व संकलन भएको छ ।
त्यसैगरी, बेरुजुबाट ३ लाख, बैंक मौज्दातबाट १७ करोड ६० लाख तथा अन्य संस्थाबाट प्राप्त ३ करोड ६० लाख रुपैयाँ नगरपालिकाले संकलन गरेको छ । उपमहानगरको पुँजीगत खर्च प्रभावकारी नहुँदा विकास निर्माणका योजनाहरुले गति लिन सकेका छैनन् ।