बालबालिकलाई साइक्लिङ र स्विमिङ तालिम

हेटौंडा– मकवानपुर जिल्ला साइक्लिङ संघले साइक्लिङ र स्विमिङ तालिमको आयोजना गरेको छ ।
विद्यालय तहका बालबालिकालाई लक्षित गरेर शुक्रबारदेखि तालिम दिन सुरु गरेको हो । तालिममा २३ जना बालबालिका सहभागी भएका छन् । ८ वर्षदेखि १५ वर्ष उमेर समूहका ५ जना बालिका र १९ जना बालक सहभागी छन् ।
जीवनोपयोगी सीप, शारीरिक एवम् मानसिक विकासमा सहयोगी क्रियाकलाप हुनुका साथै विद्यालयको वार्षिक परीक्षा सकिएको अवसरमा तीनदिने तालिमको आयोजना गरिएको मकवानपुर जिल्ला साइक्लिङ संघका अध्यक्ष संगीत श्रेष्ठले जानकारी दिएका छन् ।
बिहान साढे ७ बजेदेखि साँझ साढे ४ बजेसम्म सञ्चालन हुने तालिममा बिहानको खाजा, खाना, दिउँसोको खाजाको व्यवस्था गरिएको उनले जानकारी दिए । साइक्लिङ र स्विमिङको तालिममा प्रशिक्षकको रुपमा संगीत श्रेष्ठ, राजीव खड्गी, लक्ष्मी मगर, चन्द्र थापा र प्रमित मगर सहभागी छन् । तालिम आइतबारसम्म सञ्चालन हुनेछ ।