हेटौंडामा १८ चैत सोमबार बृहत जागरणसभा गर्दै नेकपा एमाले

हेटौंडा । नेकपा एमाले मकवानपुरले चैत १८ गते (सोमबार) हेटौंडामा बृहत जागरणसभा आयोजना गर्दैछ ।
लोकतान्त्रिक गणतन्त्रको संरक्षण र सम्वद्र्धनका लागि एमाले मकवानपुरले विशाल जागरणसभा आयोजना गर्न लागेको अध्यक्ष श्रीधर पोख्रेलले जानकारी दिए ।
जागरणसभाको तयारी तीव्र भइरहेको उनले बताएका छन् । जिल्लाका १० वटै पालिकाबाट नेता, कार्यकर्ताहरु हेटौंडामा उतार्दै गणतन्त्रको पक्षमा जागरण गराउने योजनामा एमाले रहेको हो । जागरणसभा हेटौंडाको बुद्धचोकमा हुनेछ ।
जागरणसभा भन्दा अगाडि हेटौंडाको चार स्थानबाट विशाल -याली निकालिने भएको एमाले मकवानपुरका अध्यक्ष पोख्रेलले जानकारी दिए । सोमबार बिहान १० बजे पूर्वमा सानोपोखरा, पश्चिममा हेटौंडा हस्पिटल, उत्तरमा चौकीटोल ओरालो र दक्षिणमा फरेष्ट्रि गरि चार स्थानबाट -याली निस्किने उनले बताए ।
गणतन्त्रको संरक्षण र सम्बद्र्धन तथा राष्ट्रिय स्वाधीनताको संरक्षणका लागि एमालेले जागरणसभा गर्न लागेको अध्यक्ष पोख्रेल बताउँछन् । यो जागरणसभा प्रतिगामी षड्यन्त्रकाविरुद्ध, पुनरुत्थानवादी र अराजक तत्वहरुलाई सन्देशको रुपमा पनि रहने उनको भनाई छ ।