कसले चो-यो हेटौंडा सिमेन्ट उद्योगमा लाखौं मुल्यको तार ?

संवाददाता
कार्तिक २, २०८१

हेटौंंडा । सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योग लिमिटेडमा चोरी भएको करिब एक साता बित्दासमेत स्थानीय प्रशासन बेखबर रहेको छ ।

हेटौंडा–९, लामसुरेमा रहेको उद्योगमा असोज २२ गते राति करिब १० लाख रुपैयाँ बराबरको क्रसरमा प्रयोग हुने तार चोरी भए पनि यस विषयमा प्रहरी–प्रशासन बेखबर रहेको छ ।

उद्योग प्रशासनले प्रहरीलाई जानकारी गराएको बताए पनि प्रहरीले भने आफूहरुलाई जानकारी नै नभएको प्रतिक्रिया दिएको छ ।

‘उद्योगमा चोरी भएको सत्य हो । हामीले यस विषयमा उद्योगमा सुरक्षा प्रदान गर्ने गार्ड कम्पनीसँग छलफल गरिसकेका छौं । असुलउपर गर्ने प्रक्रिया समेत अगाडि बढेको छ,’ उद्योग सञ्चालक समितिका अध्यक्ष नरेन्द्र भण्डारीका अनुसार प्राविधिक टोलीले चोरी भएको वस्तुको मूल्य निर्धारण गर्ने काम गरिरहेको छ ।

उद्योगमा काठमाडौंको बज्र सेक्युरिटी कम्पनीले सुरक्षा प्रदान गर्दै आइरहेको छ । ‘दसैंको बिदा भएकोले चोरी भएको वस्तुको मूल्य निर्धारण गर्न समय लाग्यो । एकरदुई दिनमा सबै विषय थाहा हुनेछ ।’, उनका अनुसार उद्योगबाट सामान चोरी भएको विषयमा प्रहरीलाई जानकारी गराइसकिएको छ ।

मकवानपुर प्रहरी प्रमुख उपरीक्षक विश्वराज खड्काले घटनाको विषयमा आफूहरुले बिहीबार साँझमात्र जानकारी पाएको बताए । ‘हामीलाई घटनाको विषयमा जानकारी गराइएको छैन । भर्खरै मात्र प्रहरी परिचाल गरेका छौं ।’,

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख खड्काले उद्योगको सुरक्षाका लागि राखिएको गार्डले घटनाको विषयमा खबर नगर्नुले घटना रहस्यमय रहेको बताए ।

‘गार्डले चोरी भएको समयमा आफू लुकेर बसेको प्रतिक्रिया दिएका छन् । उक्त समयमा त्यहाँ खटिएको गार्डलाई हामी नियन्त्रणमा लिँदैछौं ।’, प्रहरी उपरीक्षक खड्काले उद्योगलाई सुरक्षा दिन आफूहरु तयार रहेको र त्यसविषयमा उद्योग प्रशासनले चासो दिनुपर्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*