हेटौंडाको ९ नम्बर वडा बालमैत्री घोषणाको तयारीमा

संवाददाता
अशोज ८, २०८१

हेटौंडा । आगामी पुससम्ममा हेटौंडा उपमहानगरलाई बालमैत्री नगर घोषणा अभियानमा हेटौंडा उपमहानगरपालिका–९ नम्बर वडा थपिने भएको छ । यही असोज ११ गते वडालाई निकृष्ट बालश्रममुक्त, बालविबाहमुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारीसँगै नगरको सातौं वडा हेटौंडा–९ बन्ने भएको छ ।

वडा घोषणा गर्ने मात्र होइन घोषणापछिको जिम्मेवारीलाई समेत बहन गर्ने गरी अभियानमो जोडिएको हेटौंडा–९ का अध्यक्ष एवम् बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा मूल समितिका संयोजक सुकराम केसीले बताए ।

सोमबार वडामा आयोजित पत्रकार सम्मेलनमा सभ्य र भव्य कार्यक्रम गर्ने तयारीमा रहेको भन्दै महाअभियानमा सबैलाई सहयोगी बन्न आह्वान गरे । उनका अनुसार बालमैत्री स्थानीय शासन घोषणाका लागि आवश्यक रहेको ५१ सूचकलाई पुरा गर्दै आउँदो ११ गते वडालाई बालमैत्री घोषणा गरिनेछ ।

यस अघि हेटौंडा उपमहानगरको ८, २, ७, १७, ४ र १० नम्बर वडा बालमैत्री घोषणा भैसकेका छन् । यसअघि पूर्णखोप, पूर्णसाक्षर र खुल्लादिशामुक्त वडा घोषणा भैसकेको हेटौंडा–९ लाई सातौं वडाको रुपमा बालमैत्री स्थानीय शासनयुक्त बनाउँन लागिएको हो ।

घरधुरी तथ्याङक २०७९ अनुसार १८ वर्ष मुनिका २ हजार ७०७ जना रहेकोमा १ हजार ४४५ बालक र १ हजार २६२ जना बालिका छन् ।बालमैत्री घोषणापूर्व वडामा २५ वटा बालसमूह र १ बालसञ्जालमा ६२५ जना बालबालिका आवद्ध रहेका छन् भने बिभिन्न संरचनागत समितिमा ६५५ जना बालबालिकाको प्रत्यक्ष सहभागिता रहेको वडा कार्यालयका सचिव राजेन्द्र पोखरेलले जानकारी दिए ।

वार्षिक कामको समीक्षा

हेटौंडा उपमहानगरपालिका–९ वडाले गत आर्थिक वर्षमा गरेका कामको लेखाजोखा गरेको छ । वडा कार्यालयमा आयोजित कार्यक्रममा २०८०/८१ मा ९ नम्बर वडामा भएका विकास निर्माण तथा अन्य क्रियाकलापको सार्वजनिक सुनुवाईमार्फत लेखाजोखा गरेको हो ।

वडाले आर्थि वर्ष २०८०/८१ मा बिभिन्न पूर्वाधार निर्माण सहितका काममा ३ करोड ४९ लाख ६४ हजार २९२ रुपैयाँ खर्च गरेको उल्लेख छ । वडाले २०८०/८१ मा सडक पूर्वाधार स्ल्यावढलान, ढलनिर्माण, विद्युत सामग्री बितरण, खेलकुदलगायतको क्षेत्रमा खर्च गरेको जानकारी गराइएको हो ।

९ नम्बर वडाअध्यक्ष केसीको अध्यक्षतामा भएको कार्यक्रममा वडाका निर्वाचित जनप्रतिनिधि सहित वडामा रहेको टोल विकास सस्था, आमा समूह, सामाजिक संघसस्थामा प्रतिनिधित्व गर्ने स्थानीयको सहभागिता रहेको थियो । सार्वजनिक सुनुवाईमा संघसस्थाको प्रतिनिधित्व गर्दै प्रगति माध्यमिक विद्यालयका प्रधानाध्यापक नीरन्जन ढकालले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*