एमाले मकवानपुरमा नयाँ टिम, को हुन् अध्यक्ष श्रीधर ?

संवाददाता
जेष्ठ २४, २०८१

हेटौंडा । नेकपा एमाले मकवानपुरको १२ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा श्रीधर पोखरेल निर्वाचित भएका छन् ।सोमबार दिउँसो सम्पन्न मतगणनाअनुसार पोखरेलले ३१३ मत ल्याएर विजय हासिल गरे ।

पोखरेलसँग प्रतिस्पर्धा गरेका ईन्द्रमान स्याङ्तान, लालबहादुर थापा र देवराज रिमाल पराजित भए । इन्द्रमानले २६२ मत ल्याउँदा थापाले १६६ मत मात्रै पाए । अर्का उम्मेदवार रिमालले ११ मत ल्याए । १५ नम्बर वडा घर भएका स्याङ्तानलाई संस्थापन पक्षको उम्मेदवारका रुपमा चर्चा गरिएको थियो । तर, मकवानपुरमा संस्थापन भन्दा संस्थापनइतरको समूह शक्तिशाली बनेको छ ।

मकवानपुरबाट चारपटक सांसद भइसकेका कृष्णप्रसाद दाहाल र पार्टी केन्द्रीय सदस्य केदार न्यौपानेको समर्थनमा पोखरेलले इतर समूहको नेतृत्व गरेका थिए । एमाले मकवानपुरको पदाधिकारीमा कृष्ण र केदार टिमको पल्लाभारी भएको छ । उपाध्यक्षमा हिदम लामा र सचिवमा सीता विष्टले जिते । अध्यक्षमै उम्मेदवारी दिएका रघुनाथ खुलालले मनोनयन फिर्ता लिएर स्याङ्तानलाई समर्थन गरेका थिए ।

मकवानपुरमा संस्थापन पक्ष भनिएको डोरमणि पौडेल समर्थनको समूह र पार्टी पोलिटब्यूरो सदस्य तथा जिल्ला इञ्चार्ज देवी ज्ञवालीले जन्माएको तेस्रोधार अर्थात स्याङ्तान प्यानल पोखरेलले नेतृत्व गरेको संस्थापनइतरसँग पराजित बनेको हो । स्याङ्तान ज्ञवालीको समर्थनमा र थापा रामेश्वर रानाको समर्थनमा निर्वाचन उठेका थिए ।यसैगरी, उपाध्यक्षमा हिदम लामा ४७६ मतसहित विजयी भएका छन् ।

लामासँग पराजित भएका १५ नम्बर वडाका वडाध्यक्ष समेत रहेका सुनिल मोक्तानले १९७ मत, ध्रुवप्रसाद चौलागाईंले २६ र भरत दुलालले ३८ मत मात्रै पाए । सचिवमा २९७ मत ल्याउँदै सीता विष्ट निर्वाचित भएकी छन् । विष्टले मदन दाहाल ९२५५० र राजन थापा ९१७१० लाई हराएकी हुन् । दाहाल र थापालाई संस्थापन पक्षका उम्मेदवारका रुपमा हेरिएको थियो ।

उपसचिव खुलामा २४१ मत ल्याएर फुर्वादोर्जे लामाले र उपसचिव महिलामा २४१ मत पाएर आरती पाठकले जित हात पारेका छन् । उपसचिव खुलामा इन्द्र नेपाल (१२९), कृष्णप्रसाद चौलागाईं (८६), खेमराज जर्गामगर (१००) र दीपक खड्काले १६७ मत मात्रै ल्याए ।

उपसचिव महिलामा पार्वती रानाले १७२, जुना दाहालले १५२ र कल्पना बलामीले १५६ मत ल्याए ।सोमबार बिहान १० बजेदेखि पदाधिकारीको मात्रै मतगणना गरिएको निर्वाचन समितिका सुजन तिमल्सिनाले जानकारी दिए । सोमबार ५ बजेदेखि पदाधिकारीको मतगणना सकिएपछि सदस्यहरुको मतगणना सुरु गरिएको थियो । समाचार तयार पार्दासम्म सदस्यको मतपरिणाम भने उपलब्ध हुन सकेको छैन ।

शनिवार अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उपसचिवसहित पदाधिकारीमा पाँच सिटका लागि २८ जनाले उम्मेदवारी दर्ता गराएका थिए । अध्यक्षमा पोखरेल, खुलाल, स्याङ्तान, थापा र रिमालको उम्मेदवारी परेकोमा खुलालले फिर्ता लिए ।

उनी पार्टी बागमती प्रदेश कमिटी सचिवालय सदस्यसमेत थिए । खुलाल यसअघि एमाले मकवानपुरको अध्यक्ष पदमै मुनु सिग्देलसँग १ मतले पराजित बनेका थिए । २०७४ पछि जिल्ला समन्वय समितिको प्रमुख भएर काम गरे ।

स्याङ्तान पनि प्रदेश कमिटी सदस्य हुन् । ५ जना पदाधिकारी सहित १०५ सदस्यीय जिल्ला कमिटी चयनका लागि निर्वाचन भएको हो । ७७७ प्रतिनिधिमध्ये ७६५ जनाले मत हालेका थिए ।

को हुन् श्रीधर पोखरेल ?

साढे चारदशक लामो राजनीतिक जीवनको अनुभव संगालेका एमाले नेता पोखरेल नेकपा एमाले मकवानपुरको अध्यक्ष निर्वाचित भएका छन् ।२०३५ सालबाट विद्यार्थी आन्दोलनमा होमिएका पोखरेल २०३६ सालको आन्दोलनमै सक्रियतापूर्वक सहभागी बनेका थिए ।

त्यतिबेला उनी अनेरास्ववियु मकवानपुरको उपाध्यक्ष थिए । २०३७ देखि २०४० सम्म अनेरास्ववियुको अध्यक्ष भएर नेतृत्व गरेका पोखरेल २०४३ सालमा भएको निर्वाचनमा जनपक्षीय उम्मेद्वार जिताउने अभियानमा सक्रिय बनेका थिए ।

२०४४ सालमा जनपक्षीय मन्चको सचिव बनेका पोखरेल मकवानपुरका गाउँबस्ती डुल्दै कम्युनिष्ट आन्दोलनलाई उत्कर्षमा पु¥याउन सक्रिय रहे । २०४६ को जनआन्दोलनमा उनको सक्रियता थियो ।

विद्यार्थी आन्दोलनको नेतृत्व गरिरहेका पोखरेल २०५४ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघको उपाध्यक्ष बने । उनले युवा संघका नारायणी अञ्चल ईन्चाज, केन्द्रीय सदस्यको भूमिका निर्वाह गरिसकेका छन् ।

पिपुल भोलिन्टियर राष्ट्रिय कमिटी सदस्यसमेत बनेका पोखरेल युवा र विद्यार्थीका क्षेत्रमा काम गरेको अनुभवबाट २०५२ सालमा नेकपा एमाले जिल्ला कमिटी मकवानपुरको सदस्य भए ।

२०५४ सालदेखि १२ वर्ष पोखरेलले कार्यालय सचिवको भूमिका निर्वाह गरे । २०६२ सालमा नेकपा एमालेको सचिवको भूमिका निर्वाह गरिसकेका पोखरेलसँग २०३६, २०४६ र ०६२–०६३ जनआन्दोलनमा सहभागी बनेको र नेतृत्व गरेको अनुभव छ ।

तपाईको मत दिनुहोस्

  • प्रतिक्रियाहरु
  • प्रतिक्रियाहरु (0)