हेटौंडा–१४ मा अचार बनाउने तालिम सुरु

संवाददाता
बैशाख ३, २०८१

हेटौंडा/हेटौंडा उपमहानगरपालिका –१४ मा अचार बनाउने तालिम सुरु भएकोे छ । उद्योग तथा वाणिज्य कार्यालय हेटौंडाको आयोजना तथा महिला मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको समन्वयमा  सोमबारदेखि महिलालाई लक्षित गरेर तालिम सञ्चालन गरिएको हो ।

आगामी सात दिनसम्म सञ्चालन हुने तालिममा २० जना महिलाको सहभागिता रहेको छ । तालिमको उद्घाटन गर्दै १४ नम्वर वडाका वडा अध्यक्ष दिपक खड्काले तालिममा सिकेका कुरा व्यावसायीक रुपमा पनि गर्न आग्रह गरे । वडा अध्यक्ष खड्काले महिलाहरुले तालिम सिक्नकै लागि मात्रै नभई केहि गर्ने हिसाबले अगाडि बढ्न सुझाव दिए । उनले महिलाहरुले उत्पादन गरेको उत्पादकलाई वडा कार्यालयले पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

यसैगरी , कार्यक्रममा उद्योग कार्यालयका प्रमुख अमृत कुमार श्रेष्ठले महिलालाई सक्षम बनाउने उद्देश्यसहित यस्तो तालिम सुरु गरिएको जानकारी दिए तालिम सम्पन्न भएपश्चात् व्यावसायिक रूपमा अचार उत्पादन गरी हेटौंडाका होटल तथा रेस्टुरेन्टमा बिक्री गरिने बताए ।
अचार बनाउने तालिमका प्रशिक्षक सुचना श्रेष्ठले गाउँमा पाइने अर्गानिक उत्पादनको प्रयोगमा अचार बनाउन सकिने बताईन् । महिला मिलन सहकारीका अध्यक्ष मिना श्रेष्ठले स्थानीयस्तरमा उपलब्ध कच्चापदार्थको प्रयोग गरेर अचार बनाउन सकिने बताउँदै महिला दिदीबहिनीलाई व्यावसायिक बनाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम आयोजना गरिएको जानकारी दिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*