नवदोयमा पूर्वप्राथमिक तह अध्ययन पूरा गरेका विद्यार्थी दीक्षित
हेटौंडा । नवदोय शिशु सदन वर्ष हेटौंडा उपमहानगरको अग्रणी शैक्षिक संस्थाको रुपमा स्थापित छ । बालबालिकामा शिक्षाप्रतिको लगाव र प्रेम दर्शाउँदै अभिभावकसमेतको ध्यानाकर्षण गराउन नवोदयले अनेकौं रचनात्मक क्रियाकपालहरु गर्दै आइरहेको छ ।
मंगलबार मात्रै नवोदयले एउटा रचनात्मक शैक्षिक कार्यक्रम आयोजना गरेको छ । सामान्यताः त्रिभुवन, काठमाडौंलगायतका विश्वविद्यालयहरुले मात्रै दीक्षान्त समारोह गर्दै आएकोमा नवोदयले पूर्वप्राथमिक तहका कलिला बालबालिकाको पनि दीक्षान्त कार्यक्रम गरेको हो ।
जुन कार्यक्रमले बालबालिकाको मस्तिष्कमा प्राप्त उपलब्धीमा प्रफुल्ल भएर शिक्षाप्रतिको लगाव बढाउने शिक्षा क्षेत्रलाई नजिकबाट नियालेहरु बताउँछन् ।
‘अहिले मोबाइललगायतका विद्युतीय डिभाइसहरुले बालबालिकालाई नराम्रो प्रभाव पार्न खोजिरहेको छ । त्यसबाट छुटकारा दिलाउन विद्यालय र अभिभावक जिम्मेवार हुनुपर्छ । यसका लागि केही रचनात्मक कार्यक्रम गर्ने र शिक्षाप्रति मोह जगाइराख्नु हो । नवोदयले गरेको दीक्षान्त कार्यक्रम राम्रो छ,’ पशुपति माविका प्रधानाध्यापक भानुभक्त आचार्य भन्छन् ।
हेटौंडा उपमहानगरपालिका–४, स्थित नवोदय शिशु सदन माविले पूर्वप्राथमिक तहको अध्ययन पूरा गरेका विद्यार्थीलाई दीक्षित गरेको हो । मंगलबार एक कार्यक्रमका बीच युकेजी तहको अध्ययन पूरा गरेका ९० जना विद्यार्थीलाई दीक्षित गरिएको विद्यालयले जनाएको छ ।
दीक्षान्त समारोहमा विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको छ । पूर्वप्राथमिक तह निवर्तमान संयोजक अनिता गौतमले स्वागत मन्तव्य राखेका छन् ।
अभिभावकको उपस्थितिमा भएको कार्यक्रममा युकेजी तहको अध्ययन पूरा गरेका विद्यार्थीले नृत्य, गायन, उद्घोषण, नाटक कला प्रस्तुत गरेका थिए । विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले अभिभावकले समेत नृत्यु प्रस्तुत गरेका थिए ।
अभिभावकको तर्फबाट फुन्चु रुम्बाले मन्तव्य राखे । विद्यालयको पूर्वप्राथमिक तह संयोजक एलिशा जोशीको अध्यक्षता तथा हेटौँडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य रामबाबु थापा, प्रिन्सीपल मनोज थिङ, मावि संयोजक सीएम रिमाल, मावि तहका शैक्षिक प्रमुख मञ्चन तिवारी, प्राथमिक तह शैक्षिक प्रमुख सचिता पाण्डेको पनि आतिथ्य रहेको थियो ।