हेटौंडा–४ हुप्रचौरस्थित झाडीमा फेला परेकी नवजात शिशुले पाइन् अभिभावक

संवाददाता
फाल्गुन २८, २०८०

हेटौंडा/हेटौंडा उपमहानगरपालिका–४ हुप्रचौरस्थित झाडीमा फेला परेकी नवजात शिशुले साढे तीन महिनापछि आफूलाई पालन पोषण र संरक्षण गर्ने अभिभावक पाएकी छिन् । कार्तिक ३० गते बेवारिस अवस्थामा फेला परेकी नवजात शिशुलाई हेटौंडा उपमहानगरपालिकाले मधेश प्रदेशको पर्सा ठोरी गाउँपालिकाका निःसन्तान दम्पतीलाई शिशु हस्तान्तरण गरेको हो ।
बेवारिसे भेटिएकी शिशुको अभिभावकत्व ग्रहण गर्न इच्छुक ६ दम्पती र एक एकल महिलाको आवेदनमध्ये उपमहानगरपालिकाको कार्यविधिअनुसार ठोरी गाउँपालिकाका आकांक्षीलाई अभिभावकत्व ग्रहण गर्ने गरी शिशु हस्तान्तरण गरिएको हेटौंडा उपमहानगरपालिकाकी बाल कल्याण अधिकारी विष्णुकुमारी लामिछानेले जानकारी दिइन् ।

सम्बन्धित गाउँपालिकासँग आवश्यक समन्वय गरी शिशु हस्तान्तरण गरिएको उनको भनाइ छ । ‘हालसम्म निःसन्तान र भविष्यमा पनि सन्तान प्राप्त गर्न सक्ने अवस्था नभएको देखिएको, सामाजिक, आर्थिकरुपमा समेत सक्षम देखिएका दम्पतीलाई शिशु हस्तान्तरण गरिएको हो,’ लामिछानेले भनिन् । बेवारिसे शिशु भेटिएपछि हेटौंडा उपमहानगरपालिकाले बालअधिकार संरक्षण तथा सम्वर्धनसम्बन्धी कार्यविधि–२०८० नै तयार पारेर शिशु हस्तान्तरण गरेको हो ।

संघीय कानूनले बेवारिसे अवस्थामा भेटिएका शिशुलाई वैकल्पिक हेरचाहकर्तालाई हस्तान्तरण गर्ने व्यवस्था गरे पनि कसलाई दिने भन्ने यकिन गर्न सक्ने अवस्था नभएपछि उपमहानगरपालिकाले कार्यविधि बनाएर हस्तान्तरण गरेको हो । बेवारिसे अवस्थामा भेटिएकी शिशुलाई हस्तान्तरण गर्नु अघि सेफ हाउसमा राखिएको थियो । नवजात शिशुलाई झाडीमा कसले छाडेको हो अहिलेसम्म प्रहरी कार्यालयले पहिचान गर्न सकेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*