एमालेको प्रमुख सचेतकमा महेश बर्तौला

संवाददाता
फाल्गुन २२, २०८०

हेटौंडा । नेकपा एमालेको प्रमुख सचेतकमा महेशकुमार बर्तौला चयन भएका छन् । बर्तौला मकवानपुर क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

एमाले प्रमुख सचेतक पदम गिरी मन्त्री नियुक्त भएपछि बर्तौलाले प्रमुख सचेतकको जिम्मेवारी पाएका हुन् । उनी यसअघि सचेतकको भूमिकामा थिए । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को उपाध्यक्षसमेत भइसकेका बर्तौला यसअघि पार्टी बागमती प्रदेशको उपसचिव थिए ।

बर्तौलाले ४ मंसिर २०७९ मा पहिलो पटक निर्वाचन लडेर विरोध खतिवडालाई पराजित गरेका थिए । पहिलो पटकमै निर्वाचन जितेर चर्चा कमाएका बर्तौलालाई पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले निरन्तर महत्वपूर्ण भूमिका दिँदै आएका छन् ।

यसैगरी, नेता ओलीले सचेतकमा भने सुनिता बराललाई मनोनित गरेका छन् । उनी पनि पहिलो पटक प्रतिनिधिसभामा समानुपातिकबाट गएकी हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*