लामा टोलकी १५ वर्षीया किशोरीको हत्या
नेपालको पूर्वी क्षेत्रस्थित मोरङमा एक किशोरीको हत्या भएको छ ।
पथरीशनिश्चरे नगरपालिका वडा नम्बर–७, स्थित लामा टोलकी १५ वर्षीया ज्ञानमती फुलुङ राईको हत्या भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख नवराज कार्कीले जानकारी दिए ।
सोमबार राति साढे १० बजे ज्ञानमती आफ्नै घरको पछाडि रहेको शौचालयमा गएकी थिइन् । त्यतिबेला कुनै अपरिचित व्यक्तिले टाउकोमा धारिलो हतियार प्रहार गरी फरार भएको प्रहरीले जनाएको छ ।
उक्त खबरपछि एसपी कार्कीसहितको टोली घटनास्थलमा खटिएका थिए । धरानबाट तालिमप्राप्त कुकुरको टोली पनि खटिएको थियो ।
मंगलबार बिहान साढे ८ बजे कानुनी प्रक्रिया पूरा गरी शव पोष्टमर्टमको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ। प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ ।