मकवानपुर क्याम्पसलाई विश्वविद्यालय बनाउने सरकारको निर्णय

संवाददाता
पुस ५, २०८०

हेटौंडा– बागमती प्रदेश सरकारको मंगलबार बसेको मन्त्रीपरिषद् बैंठकले मकवानपुर बहुमुखी क्याम्पसलाई प्रादेशिक विश्वविद्यालय बनाउने निर्णयगरेको छ ।

प्रदेश सरकारले प्रदेशको शैक्षिक विकासका लागि प्रादेश सार्वजनिक विश्वविद्यालय स्थापना गर्नका लागि संरचना तयार गर्न अनुमति प्रदान गर्ने निर्णय मन्त्रीपरिषद्ले गरेको प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले बताए ।

बागमती प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले हेटौंडा उपमहानगरपालिका–२ मा रहेको मकवानपुर बहुमुखी क्याम्पसलाई प्रदेशको सार्बजानिक विश्वविद्यालय बनाउने निर्णय गरेको हो । मन्त्रिपरिषद्ले विश्वविद्यालय बनाउने निर्णय गरेको प्रदेशका मुख्यमन्त्री शालिकराज जम्मकट्टेलले जानकारी दिएका छन् ।

केहीदिन भित्र आफूहरु र मकवानपुर क्याम्पस सञ्चालक समितिबीच संयुक्त बैठक बस्ने र छलफलबाट काम अगाडि बढाउने उनले बताए । मकवानपुर बहुमुखी क्याम्पस नेपालका उत्कृष्ठ १० सामुदायिक क्याम्पस भित्र पर्छ ।

विश्वविद्यालय स्थापनाका लागि क्याम्पस सञ्चालक समितिसँग छलफल गरी विश्वविद्यालयको कार्यालय स्थापना गर्ने चरणमा आफूहरु रहेको मुख्यमन्त्री जम्मकट्टेलले बताएका छन् । प्रदेश सरकारको निर्णयले मकवानपुर बहुमुखी क्याम्पसलाई विश्वविद्यालयको रुपमा विकास गर्न ढोका खुलेको छ ।

करिब ७ हजार विद्यार्थी अध्ययन गरिरहेको मकवानपुर बहुमुखी क्याम्पससँग रहेको भवन, जग्गा जमिन, भौतिक संरचना विश्व विद्यालयका लागि अपुग हुने भएकोले क्याम्पसले फराकिलो जग्गा खोजी गरिरहेको छ ।

हेटौंडा उपमहानगरको वडा नं। ११ सरस्वती तल्लोतालस्थित नदीउकास जग्गामा विश्वविद्यालयका लागि आवश्यक पर्ने थप संरचना निर्माणका लागि जग्गा उपलब्धगराउने बिषयमा छलफल भइरहेको क्याम्पस प्रमुख शंकरप्रसाद उपाध्यायले साझाकुरालाई बताए ।

राप्तीकिनारमा रहेको नदीउकास जग्गा तटबन्ध गरी विश्वविद्यालयलाई उपलब्ध गराउने बिषयमा छलफल भइरहेको वडाअध्यक्ष जुना दाहालले बताइन् । विश्वविद्यालयलाई जग्गा अपुग भयो भने यही जग्गासँग जोडिएको हेटौंडा–३ बसामाडीको नदीउकास जग्गा पनि पर्याप्तरहेको बताइएको छ ।

विश्वविद्यालयका लागि भबिश्यसम्म फराकिलो जग्गा आवश्यक पर्ने भएकोले बागमती गाउँपालिकामा पनि खोजी भइरहेको बताइएको छ । बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले पनि फापरबारी क्षेत्रमा विश्वविद्यालयका लागि उपयुक्त जग्गा पर्याप्त रहेको बताएका छन् ।

विश्वविद्यालयलाई आवश्यक पर्ने जग्गा स्थानीय तहले ब्यवस्थापन गर्न सक्ने गरी प्रदेश सरकारले कार्यबिधि निर्माण गरी पारित गरिसकेको छ । त्यही आधारमा स्थानीय तहले विश्वविद्यालयलाई आवश्यक जग्गा उपलब्ध गराउन सक्ने क्याम्पस प्रमुख उपाध्यायले जानकारी दिए ।

प्रदेश सरकारले प्रादेशिक विश्वविद्यालय स्थापनाका लागि केही समय अघिदेखि गृहकार्य गरिरहेको थियो । प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको नेतृत्वमा प्रदेशको राजधानीमा रहेको सामुदायिक क्याम्पस मकवानपुर बहुमुखी क्याम्पसलाई विश्वविद्यालयको रुपमा अघि बढाउनको लागि पाँच सदसीय समिति निर्माण गरेको थियो । समितिले पटकपटकको छलफलजारी राखेको छ ।

क्याम्पसका पूर्वअध्यक्ष समेत रहेको पौडेलेको समितिमा क्याम्पसका पूर्वअध्यक्षहरु माइकल रामचन्द्र अर्याल, संविधानसभा सदस्य प्रल्हाद लामिछाने, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान रहेको समिति निर्माण भएको थियो । समितिको सदस्य सचिवमा क्याम्पसका सहायक क्याम्पस प्रमुख डा। यम सिलवाल रहेका थिए ।

हेटौंडामा भएको क्याम्पस सञ्चालक समिति तथा सरोकारवालाको बैठकले प्रदेशको राजधानीमा विश्वविद्यालयको आवश्यकता रहेको र प्रदेश सरकारले पनि प्रदेशविश्वविद्यालयको अवधारणालाई प्राथमिकताको साथ अघि बढाएको भन्दै मकवानपुर बहुमुखी क्याम्पसलाई नै विश्वविद्यालयको रुपमा अघि बढाउने गरी काम गर्न समिति निर्माण गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*