हेटौंडामा पाउडर प्लान्ट तयार, तर सरकारसँगै छैन सञ्चालनको योजना

संवाददाता
मंसिर ११, २०८०

हेटौंडा– बागमती प्रदेश सरकारको लगानीमा हेटौँडामा पाउडर (धुलो) दुध उत्पादन उद्योग स्थापना भएको छ । प्रदेश सरकारले ३ वर्ष लगाएर हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० न्यूरेनीस्थित सिसौघारीमा धुलो दुध तथा बटर उद्योग स्थापना गरेको हो ।

उद्योग स्थापनाको अन्तिम चरणमा पुगे पनि हालसम्म सञ्चालनको विषयमा सरकारले कुनै औपचारिक छलफल अघि बढाएको छैन । उद्योग सञ्चालनको योजना न मन्त्रालयले बनाएको छ, न त दुग्ध विकास बोर्डले नै बनाएको छ ।

निर्माण कार्य सकिने अवस्थामा पनि उद्योगका लागि चाहिने जनशक्ति, लागत रकम, सञ्चालनको मोडल लगागतका विषयमा प्रदेश सरकारका निकायहरू निर्णय विहीन अवस्थामा छन् ।

प्रदेश दुग्ध विकास बोर्ड बागमती प्रदेशका उपाध्यक्ष टीकाबल्लभ सापकोटाले उद्योग निर्माणको काम अन्तिम चरणमा पुगे पनि हस्तान्तरणको काम भने बाँकी नै रहेको बताए ।

उद्योग निर्माण पक्षले भौतिक काम र सामान्य परीक्षण थाले पनि धुलो दुध उत्पादन परीक्षण गर्न र हस्तान्तरणको काम बाँकी नै रहेकाले उद्योगबाट तत्कालै उत्पादन थालिहाल्ने अवस्था नरहेको उनले बताए ।

उनका अनुसार उद्योग सञ्चालनका सम्बन्धमा प्रदेश सरकारले ठोस योजना निर्माण नगरे पनि अनौपचारिक रुपमा छलफल भएको र केही मोडलका विषयमा निर्णय गरेर अघि बढ्न सक्ने अवस्था छ ।

‘उद्योगको मुख्य भागको काम पूरा भएको देखिन्छ । अन्य केही काम अझै बाँकी नै छ । उद्योग स्थापना भएरमात्रै हुँदैन । गुणस्तरीय उत्पादन परीक्षण पनि महत्त्वपूर्ण पक्ष हो,’ उनले भने, ‘धुलो दुध उत्पादन परीक्षणको काम बाँकी नै छ । सबै काम सकेर निर्माण कम्पनीले उद्योग बोर्डलाई हस्तान्तरण गर्नुपर्छ । त्यसपछि मात्रै उद्योग सञ्चालन तर्फ हामीले अघि बढ्छौँ ।’

सहकारी संस्था, निजी क्षेत्र र सरकारको प्रत्यक्ष संलग्नता तथा साझेदारीमा उद्योग सञ्चालनको मोडल तयार पार्ने विषयमा बोर्डमा छलफल भइरहेको उपाध्यक्ष सापकोटाले बताए ।

तत्कालको अवस्थामा दुग्ध विकास संस्थानलाई नै उद्योग चलाउन दिने भन्ने विषयमा पनि छलफल भइरहेको उनको भनाइ छ । उनले उद्योग सञ्चालनको मोडालिटी र जनशक्ति व्यवस्थापनको विषयमा आवश्यक छलफलपछि सरकारले निर्णय गर्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*