थाहानगरमा उत्पादित मुलाले पाएन मूल्य
हेटौंडा– बेमौसमी तरकारीको ‘पकेटक्षेत्र’ मानिएको उत्तरी मकवानपुरको थाहानगरमा उत्पादन भएको तरकारीको उचित मूल्य नपाउँदा किसान मारमा परेका छन् ।
थाहानगरका किसानको मुख्य आम्दानीको श्रोतमा रहेको तरकारीले उचित मूल्यको बजार नपाउँदा उनीहरुले लगानी गरेर उत्पादन गरेको भन्दा निकै कम मूल्यमा तरकारी बेच्नु परेको छ । अझ किसानकै भाषामा भन्दा उनीहरुले उत्पादन गरेको तरकारी ‘कौडी’को भाउमा बेच्नु परेको छ । थाहानगर क्षेत्रमा यतिबेला टमाटर, काउली तथा मुला उत्पादन भइरहेको छ । तर, किसानहरु उत्पादन भएको तरकारीले भाउ नपाउँदा निराश छन् । लाखौँ रुपैयाँ लगानी गरेर निकै मेहनतको साथमा उत्पादन गरेर बेच्ने बेलामा भाउ नआउँदा यहाँको किसानमा निराशा छाएको छ ।
उनीहरुले उत्पादन गरेको तरकारी सित्तैमा लैजाऊ भन्दा पनि मानिस नभएको भन्दै उत्पादित तरकारीलाई बारिमा नै नष्ट गर्नुपर्ने वाध्यात्मक अवस्थाको सृजना भएको किसानहरुको भनाई छ । थाहा नगरपालिका–२ का किसान निरोज प्रधान अहिले एक रुपैयाँ किलोमा पनि मुला बिक्री गर्न नसकेको बताउँछन् । उनले भने, ‘एक पोका मुलाको बीउ २५ सय रुपैयाँसम्म पर्छ । अर्थात् एक गेडा मुलाको बीउको मात्र ५ रुपैयाँ पर्न आउँछ तर, उत्पादन भएको मुला एक रुपैयाँमा पनि बिक्री नहुँदा अहिले हामीलाई निकै समस्या परेको छ । काउलीको मूल्य पनि उस्तै छ ।’
अहिले थाहा नगरपालिकामा प्रतिकिलो ५ रुपैयाँमा काउली बेच्न किसान बाध्य छन् । ‘आफूले ५ रुपैयाँमा बेचेको काउली नजिकैको काठमाडौं र हेटौंडामा ५०–६० रुपैयाँ किलोमा बिक्री भइरहेको आँखैले देख्नु परेको छ तर, हामी किसानहरु भने सधैँ मारमा नै छौँ, उनले भने । थाहा नगरपालिकालाई बेमौसमी तरकारी उत्पादन केन्द्रको रुपमा लिइएको छ । यहाँको तरकारी नेपालको हरेक जिल्लाको बजारमा पुग्ने गरेको छ । तर, उत्पादनकर्ता किसान भने सधैँ घाटामा रहेको कारण युवाहरुले तरकारी खेतीलाई अब पेशाको रुपमा लैजाने अवस्था कम हुँदै गएको थाहानगरका अर्का किसान रामसिंह वाइबा बताउँछन् ।
वाइबाले भने ‘हामीले निकै मेहनत गरेर तरकारी फलाउँर्छौँ, मल पानीको उचित व्यवस्थापन गरेर फलाउँछौँ तर, बिक्री गर्ने बेलामा भने सधैँ घाटा मात्र हुने भएपछि अब यस्तोखाले व्यवसाय गरेर कसरी परिवार पाल्न सक्छौ र रु’ तरकारी उत्पादन गरेर घरपरिवारलाई पाल्न समस्या हुँदै गएपछि यहाँका सयौँ किसानहरु वैदेशिक रोजगारीको लागि जानु परेको उनको भनाई रहेको छ ।
शीतभण्डारण नहु“दा समस्याः मेयर विष्ट
थाहा नगरपालिकाका मेयर विष्णुबहादुर विष्टले आफू पनि किसान भएकाले कृषकहरुका समस्या बुझेको बताए । उनले शीतभण्डारण केन्द्रको अभावका यहाँका किसानले सस्तो मूल्यमा तरकारी बेच्नु परेको बताए ।
बिष्टले भने, ‘हामी घाटा खाएर पनि प्रत्येक वर्ष अरबौँको तरकारी निर्यात गरिरहेका छौँ तर, अब एउटा शीतभण्डार केन्द्रको निर्माण गरेर किसानको उत्पादनलाई बजार अनुसार निर्यात गर्ने सोचको साथ ९ करोड रुपैयाँ खर्च गर्दै छौँ ।’
एकैपटक स्थानीय तहसँग ९ करोड रुपैयाँको योजना सम्पन्न गर्न बजेट अपुग हुने भन्दै उनले आफूले यसबारे प्रदेश र केन्द्र सरकारसँग समन्वय गरिरहेको बताए । प्रदेश र केन्द्रले बजेट दिने आसमा आफूहरुले शीतभण्डार कक्षको लागि टेण्डर समेत आव्हान गरिसकेको उनको भनाई रहेको छ ।