हेटौंडाबाट राजधानी सार्नुपर्ने मुख्यमन्त्रीको अभिव्यक्तिमा एमालेको आपत्ति

संवाददाता
कार्तिक १७, २०८०

हेटौंडा– बागमती प्रदेशको संसदीय दलले प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सार्वभौम सदनले विगतमा गरेको निर्णयको विरुद्ध गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएको छ ।

बुधवार नेकपा (एमाले) संसदीय दलका नेता जगन्नाथ थपलियाको अध्यक्षतामा ललितपुरमा बसेको बैठकले मुख्यमन्त्रीको अभिव्यक्तिले अस्थिरता निम्त्याउने खेल सुरु हुन लागेको संकेत गरेकोले जनतालाई सचेत हुन अनुरोध गरेको छ । बैठकले संसदको अघिल्लो कार्यकालले बागमती प्रदेशको नामाकरण लगायतका ऐतिहासिक विषयहरुमा टुंगो लगाइसकेकोमा त्यसका बिरुद्ध गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै बिरोधगरेको हो ।

मुख्यमन्त्री जम्कट्टेलले गत असोज ३ गते भक्तपुरको मध्यपुर थिमिमा नेकपा (माओवादी केन्द्र) मध्यपुर नगर समितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बागमती प्रदेशको नाम र राजधानी परिवर्तन गर्नुपर्ने बताएका थिए ।

प्रदेशको नाम र राजधानी दुवै अनुपयुक्त रहेको भन्दै धेरै जनता खुसी नभएको दाबी समेत गरेका थिए । सोही कार्यक्रममा सम्बोधन गर्दै तत्कालीन समय प्रदेशसभामा आफूले अन्तिम समयसम्म प्रदेशको नाम नेवा–ताम्सालिङ नै हुनुपर्छ भनेर अडान लिए पनि सम्भव हुन नसकेको मुख्यमन्त्री जमकट्टेलले बताएका थिए ।

उनले प्रदेशको नाम बागमती परिवर्तन गरेर नेवा–ताम्सालिङ नै राखिनुपर्ने बताएका थिए भने प्रदेश राजधानी हेटौँडा प्रदेशको एउटा कुनामा रहेकाले चितवन र मकवानपुरबाहेक अरु ११ जिल्लालाई पायक नपर्ने भएकाले सबैलाई पायक पर्ने गरी प्रदेश राजधानी धुलिखेल नै राखिनुपर्ने बताएका थिए । नाम र राजधानी परिवर्तन प्रदेशसभाको क्षेत्राधिकार रहेकाले उपयुक्त समय आएपछि राजनीतिक सहमतिबाटै राजधानी र नाम दुवै परिवर्तन हुने उनले बताएका थिए ।

विसं २०७६ पुस २७ गते बसेको प्रदेश सभा बैठकले तत्कालीन प्रदेश तीनको नाम बागमती र स्थायी राजधानी हेटौंडा कायम गर्ने प्रस्ताव दुई तिहाई बढी मतले पास गरेको थियो । बैठकमा नेकपा एमाले प्रदेश कमिटीका अध्यक्ष कैलाश प्रसाद ढुंगेल, प्रदेश कमिटीका निवर्तमान अध्यक्ष केशवराज पाण्डे, नवनिर्वाचित उपाध्यक्ष दावा दोर्जे लामा सचिव नवराज सिलवाल, उपसचिव प्रेमबहादुर महर्जन, उपत्यका विषेश कमिटीका उपसचिव उर्मिला सुनुवारलगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*